Logo

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा



बैतडी, ८ चैत । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ ।

प्रारम्भमा किसानबाट १० टन आलु खरिद गरी भण्डारण गरिएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष भट्टले जानकारी दिए । बिक्री गर्न बाँकी रहेको आलु किसानबाट खरिद गरी भण्डारण गरिएको उनले बताए । गाउँपालिकाले बजार मूल्यभन्दा बढीमा किसानबाट आलु खरिद गरेको हो ।

किसानबाट गाउँपालिकाले प्रतिकिलो रु ५५ मा आलु खरिद गरेको प्रमुख भट्टले बताए । आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा एक करोडको लागतमा शीतभण्डार निर्माण गरिएको हो । यसअघि गाउँपालिकाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको थियो ।

किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज शीतभण्डारमा भण्डारण गरिने प्रमुख भट्टले बताए । किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा शीतभण्डार निर्माण गरिएको हो । दोगडाकेदार आलु र सुन्तलाको पकेट क्षेत्र हो । यसअघि शीतभण्डार अभावमा किसानले आफ्नो उत्पादन सस्तोमा बिक्री गर्दैआएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्