
काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टी कमजोर हुँदा बेला–बेलामा लोकतन्त्र मासिँदै आएको बताएका छन् । आज (शुक्रबार) मोरङ काठमाडौं सम्पर्क समितिले काठमाडौंमा अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । २०१७ सालमा तत्कालीन राजालाई कांग्रेसकै प्रमुख नेताले साथ दिएर विपी कोइरालालाई जेल हालिएको पनि उनले बताए । त्यस्तै कांग्रेस कमजोर भएकै कारण २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले दलहरुलाई प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरु गरेको उनले बताए ।
‘जहिले–जहिले नेपाली कांग्रेस कमजोर हुन्छ, कांग्रेसमा लोभी पापीहरुको प्रवेश हुन्छ । व्यक्तिवादी चिन्तनबाट सत्ता हत्याउने र सत्तामा म पुग्नैपर्छ, अरुलाई क्रश गर्नैपर्छ भन्ने हुन्छ, त्यो–त्यो बेला लोकतन्त्र मासिएको छ । २०१७ सालमा नेपाली कांग्रेसभित्रकै प्रमुख नेताहरुबाटै राजालाई सपोर्ट भएपछि विपीलाई जेलमा हालिएको हो । त्यतिमात्रै होईन, २०४६ सालमा जब प्रजातन्त्र आयो, अनि २०५९ सालमा राजाले टेकओभर कस्को कारणले गरेको ? कांग्रेस दुई टुक्रा भएपछि न राजाले टेकओभर गरेको हो । यो इतिहासमा होइन, वर्तमानमा हामीले देखेको र त्यसको विरुद्धमा हामीले आन्दोलन गरेको हो । त्यतिखेर पनि कांग्रेस कमजोर हुँदा राजाले टेकओभर गरे,’– उनले भने ।
साथै, र।ाजावादीहरुले गत फागुन २५ गते गरेको प्रदर्शनतर्फ लक्षित गर्दै उनले आफूलाई धेरै भीडमा विश्वास नरहेको बताए । नेता कार्कीले माओवादीको दब्दबाको बेलामा पनि तत्कालीन राजा गएको ठाउँमा ठूलै भीड जम्मा हुने गरेपनि त्यो भीडले उनलाई बचाउन नसकेको टिप्पणी गरे ।
‘म धेरै भीडमा विश्वास पनि गर्दिनँ । माओवादीको बद्दबामा, माओवादीले देशै कब्जा गरेको छ भनेको बेलामा राजाले देश दौडाह गर्दा हामीले भीड देखेकै हो । त्यो भीडले राजालाई बचाउन सकेन । अहिले कांग्रेसभित्रै पनि भीड देखाएर कांग्रेसलाई नै हप्काउने अभियान सुरु गर्न खोजिएको पनि छ । भीडले जनमत हुने भए डा.सुनिल शर्मालाई रेखा थापाले जित्नुहुन्थ्यो । अटोग्राफ लिने र रेखा थापाको चुनावी कार्यक्रममा आउनेको भीड ठूलै थियो । मत भीडले होईन मतदाताले दिने हो,’– उनले भने ।