Logo

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरू



काठमाडौं, ८ चैत । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीवारदेखि काठमाडौँमा आयोजना भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आगामी सोमवारसम्म हुने यस महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सवका अध्यक्ष केपी पाठकले बताए । ‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ आयोजना भएको आठौँ संस्करणमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तक्र्रियालगायत कार्यक्रम हुने अध्यक्ष पाठकले जानकारी दिए ।

महोत्सवअन्तर्गत तेस्रो दिन शनिवार ‘रसियन फिल्म डे’ को आयोजना हुनेछ । उक्त दिन तीनवटा रसियन चलचित्र प्रदर्शन गरिनेछ । ‘यसअघिका शृंखलाभन्दा भव्य बनाउने किसिमले हामीले तयारी गरेका छौँ । चलचित्रप्रेमी दर्शक आकर्षित हुनेगरी हामीले प्राप्तमध्येबाट चलचित्र छनोट गरेका छौँ । यो विश्वभरका चलचित्रकर्मी भेटघाट, छलफल र चलचित्र आदानप्रदान गर्ने माध्यम बन्नेमा विश्वस्त छौँ’, उनले भने ।

महोत्सवलाई राष्ट्रिय र अन्तरराष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ । दुवैमा ‘फिचर’ र लघु चलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ । नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने ‘नेशनल पानोरमा’मा जोन योञ्जनले निर्देशन गर्नुभएको ‘क्रलिङ क्रोज’, दिनेश राउतले निर्देशन गरेको ‘पूजार सार्की’, सिद्धार्थ पुडासैनीले निर्देशन गरेको ‘सानो संसार’ र लक्ष्मण सुवेदीले निर्देशन गरेको ‘सतीदेवी’ छनोट भएका छन् ।

नेपाली वृत्तचित्रको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ रहेको छ । यो संस्करणदेखि एआई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको महोत्सव निर्देशक पाठकले जानकारी दिए । ‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेशन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एण्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट वन’ छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँच सय सय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख रुपैयाँ र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०÷५० हजार र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई ५०० डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई ५०० अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । यसै बीच शुक्रवार रंगमञ्च कि रंगीन पर्दा नामक अन्तर्संवाद कार्यक्रम सम्पन्न भएको छ ।

राजधानीको नेपाल पर्यटन बोर्ड परिसरमा सम्पन्न रंगमञ्च र चलचित्रका कलाकार प्रमोद अग्रहरी, सरिता गिरी, बुद्धि तामाङ र सिर्जना अधिकारी सहभागी रहेको सो कार्यक्रममा पत्रकार सुकृत नेपाल सहजकर्ताका रूपमा रहेका थिए । यस्तै शुक्रवार नै भएको अन्तिम चरणको अर्को अन्तर्सवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाली चलचित्रमा व्यावसायिकता किन विषयक अन्तर्संवाद कार्यक्रममा उक्त कार्यक्रममा उद्योगपति शेखर गोल्छा, चलचित्रका लगानीकर्ता नकीम उद्दीन, बैंकर मनोज ज्ञवाली सहभागी थिए– जसको सहजकर्ताका रूपमा रञ्जित आचार्य रहेका थिए । दुवै अन्तर्संवाद कार्यक्रम सकिएपछि सहभागी तथा सहजकर्तालाई मायाको चिनो दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्