
काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले अबको दुई महिनाभित्र राजासहितको हिन्दु अधिराज्य कायम हुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दे उनले अबको दुई महिनाभित्र देशमा अमूल परिवर्तन हुने बताएका हुन् । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गराएर राजासहितको हिन्दु् अधिराज्य कायम गराएरै छाड्ने बताए ।
‘दुई महिनमा देशमा आमुल परिवर्तन हुने हावा चलिसक्यो । गणतन्त्र परिवर्तन हुन्छ, संघीयता परिवर्तन हुन्छ, धर्मनिरपेक्षता परिवर्तन हुन्छ । राजासहितको हिन्दु अधिराज्य कायम हुन्छ,’– उनले भने ।
नेपाली जनताले विगतमा राजसंस्था नफालेको उनले बताए । पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन समय कू गरेको भनेर भ्रम फिजाइएको उनले बताए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देवाले ‘सरकार हामीले सकेनौं’ भनेर राजालाई शासन सत्ता बुझाएको उनले बताए ।