Logo

भ्रष्टाचारविरुद्धको अभियानको सुई कांग्रेस-एमालेका माथि-माथिका नेतातिर सोझिएपछि बडो षड्यन्त्रमुलक ढंगबाट अहिलेको सरकार बन्योः प्रचण्ड



काठमाडौं, ९ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्धको अभियानको सुई कांग्रेस–एमालेका शीर्ष नेतातिर सोझिएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् । आज (शनिबार) जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनको माडी–१ मा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियानको सुई कांग्रेस–एमालेका शीर्ष नेताहरुतिर सोझिएपछि रातारात अप्राकृतिक, अपारदर्शी र षड्यन्त्रपूर्वक ढंगले आफूलाई हटाइएको बताएका हुन् । उनले भने, ‘हाम्रो भ्रष्टाचारको विरुद्धको अभियानको सुई कांग्रेस र एमालेका सबैभन्दा माथि–माथि रहेका नेताहरुतिर पनि सोझियो । त्यसपछि रातारात बडो अप्राकृतिक, अपारदर्शी र षड्यन्त्रमुलक ढंगले गठबन्धन गरियो ।’

साथै, आफू तेस्रो पटक प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्धको अभियान छेडेको उनले बताए । धेरै समय प्रचण्डको नेतृत्वमा सरकार रह्यो भने हामी त सिद्दिने भयौं भनेर दलाल र विचौलियाहरुले वर्तमान सरकार बन्ने आधार खडा गरिदिएको पनि उनको आरोप छ । प्रचण्डले गत स्थानीय तहको उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा माओवादीले पाएको सफलता उत्साहजनक रहेको बताए । उनले अब एकचोटी सबै नेता तथा कार्यकर्ताले जनताको घर–घरमा जाने संकल्प गर्ने बेला आएको बताए ।

‘अबको समय हामी सबैले एकचोटी फेरि जनताको बीचमा जाने संकल्प गर्ने समय हो । हामी यो एकता स्तम्भमा उपस्थित भइराख्दा हामीले लिनुपर्ने संकल्प भनेको हामी सबैले मेहनत गर्यौं भने आउने दिनमा माओवादी आन्दोलन र माओवादी पार्टी, समाजवादी क्रान्ति अगाडि बढ्छ । माओवादी देशको एक नम्बर पार्टी बन्न सम्भव छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्