
काठमाडौं, ९ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले अहिले सच्चा गणतन्त्रवादीहरुको काँधमा गम्भीर चूनौति थपिएको टिप्पणी गरेका छन् । उनले प्रतिक्रियावादी र राजतन्त्रवादीहरुले सरकारी छातामुनि बसेर नै अहिलेको व्यवस्थाविरुद्ध चलखेल गरिरहेको गम्भीर आरोप लगाएका छन् ।
भूपुगोर्खा सैनिक संगठनसँग भएको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले संविधान र व्यवस्थाविरुद्ध नै चलखेल हुँदापनि प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक प्रतिक्रियामात्रै दिएर बसेको भन्द्यै किरातीले आक्रोश पोखे ।
उनले वर्तमान सरकारमा सहभागी सबैभन्दा ठूलो नेपाली कांग्रेसले संविधान संशोधनबारे गोष्ठीको नाटक गरेर प्रतिवेदनमा हिन्दू गणतन्त्रको स्थापना र समानुपातिक प्रतिनिधित्वको खारेजीको विषय राखेकोमा पनि आपत्ति जनाए ।
सम्बोधनको क्रममा उनले भने,‘राजतन्त्रवादीहरुले नवीन सम्झौता भनिरहनु र सरकारी पक्षको यो रवैयाले सिँगारी हराउनु र बाघ कराउनुको संयोगमात्र हो भन्ने लाग्दैन, यसमा गम्भीर शंका गर्ने ठाउँ छ ।’ उनले यही चैत्र १५ गते माओवादी केन्द्रको नेतृत्वमा आयोजना हुने समाजवादी मोर्चाको व्यवस्थाको पक्षको जनप्रदर्शनमा भाग लिन न्यायप्रेमी जनतालाई अपिल गरेका छन् ।