
काठमाडौं, ९ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अब जनमत पार्टी र नाउपा एक हुने बताएका हुन् । उनले जनमत र नाउपा एक भएर पहिचानको मुद्दालाई दरिलो बनाएर उठाउने बताए । नेता चौधरीले पहिचानको मुद्दामा डा. बाबुराम भट्टराईको पनि साथ रहेको बताए ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री भट्टराईले आफूलाई ‘तपाईँहरु पहिचानको मुद्दा उठाउनुस्, टाउकोमा राख्नुपर्यो भने म मेरी छोरी मानुषी पठाइदिउँला’ भनेर वचन दिएको पनि उनले बताए ।
‘अब हामी एक हुन्छौं, एक हुनुपर्छ । जनमत र नागरिक उन्मुक्ति पार्टी, पहिचानको मुद्दा, डा.बाबुराम भट्टराईले भन्नुभएको छ-तपाईँ दुई जनाले उठाउनुस्, टाउकोमा राख्नुपर्यो भने म मेरी छोरी मानुषी पठाइदिउँला भनेर,’– उनले भने ।