
काठमाडौं, ९ चैत । नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक एवं नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक देवदूत अधिकारीले आफूहरुको चार शुत्रीय माग सम्बोधन नभए केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईको बारेमा छानविन हुनुपर्ने भन्दै आफूहरुले राखेको माग तत्काल पूरा गरिनुपर्ने बताए ।

स्काउट शुद्धीकरण अभियानले निर्देशक भट्टराईमाथि आर्थिक अनियमितता, कर्मचारीमाथि दुव्र्यवहार तथा यौन दुव्र्यवहारलगायतका विषय छानविन हुनुपर्ने माग रहेको छ । शुद्धीकरण अभियानका संयोजक अधिकारीका अनुसार स्काउटकै एक महिला कर्मचारीले निर्देशक भट्टराईमाथि यौन दुर्व्यवहारको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेकी थिईन् ।
शुद्धीकरण अभियानले स्काउटका प्रमुख युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई निर्देशक भट्टराईमाथि छानविन हुनुपर्ने माग राख्दै गत फागुनमा चार शुत्रीय मागसहित ज्ञापन पत्र बुझाएका थिए । निर्देशक भट्टराइमाथि कुनै छानविन नभएपछि स्काउट शुद्धीकरण अभियानले विगत ८ दिनदेखि दैनिक १ घण्टा रिले अनशन गर्दै आइरहेको छ ।
रिले अनशन जारी रहेको अवस्थामा मन्त्री चौधरीले हिजो उनीहरुलाई वार्ताका लागि बोलाएका थिए । तर, मन्त्री चौधरीले निर्देशक भट्टराईमाथिका कुनै पनि आरोप छानविन गर्न नसक्ने बताएका छन् ।
‘नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईको बारेमा हामीले चार वटा मागहरु राखेर हामीले नेपाल स्काउटका प्रमुख आयुक्तलाई हामीले चार शुत्रीय मागहरु राखेका थियौं । त्यो चार शुत्रीय मागलाई उहाँले बेवास्ता गरेको अवस्था रहेपछि हामी अहिले आन्दोलन गर्न बाध्य भएका छौं,’– शुद्धीकरण अभियानका संयोजक अधिकारीले भने ।
भट्टराईले विगत ६ वर्षदेखि आफ्नो मनोमानी ढंगले नेपाल स्काउट सञ्चालन गरेको संयोजक अधिकारीले बताए ।
यस्ता छन् स्काउट शुद्धीकरण अभियानका ४ बुँदे माग
- हालै प्रमुख स्काउटको हस्ताक्षरद्वारा जारी कर्मचारी प्रशासन नियमावली २०८१का प्रसुति विदा जस्ता कतिपय प्रावधानहरु कर्मचारीको मनोवल गिराउने खालको भएको हुँदा सो नियमावली उपर राष्ट्रीय परिषदमा व्यापक छलफल गरी सो परिषदबाट पारित गराई शंसोधित नियमावली लागु गर्नु पर्ने ।
- राष्ट्रिय प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराईको अनियमिततासंग सम्बन्धित नेपाल स्काउटमा प्राप्त १० बुँदै उजुरीउपर छानविन गरिनु पर्ने ।
- हाल बाहिर आएको, राष्ट्रीय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराईद्वारा कार्यक्षेत्रमा गरिने दुव्र्यवहार तथा यौन दुव्र्यवहारसंग सम्बन्धीत विषय उपर छानविन गरिनु पर्ने ।
- राष्ट्रिय प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराईउपर छानविन पूरा नहुन्जेल निजलाई निलम्बनमा राखिनु पर्ने, छानविनको प्रकृया पुरा भए पश्चात प्रतिवेदनका आधारमा कारबाही गर्नुपर्ने ।