‘कांग्रेस बनेर होइन, बाँचेर देखाउने रहेछ’

3.1k
Shares

  • राजेश कुमार श्रेष्ठ

“म काँग्रेस छोड्दिन, म कांग्रेस मन पराउन छोड्दिन” यो कुनै कांग्रेसी नेताको भाषण थिएन । यो त कक्षा ४ पढ्दै गरेका ७ वर्षीय बालक “अटल” को बतोड जवाफ थियो, प्रश्न उनको आमाको थियो “बाबु, कांग्रेस त पुरानो भइसक्यो नि नयाँ पार्टीमा लाग्नुपर्छ, अब” ।

ती अबोध बालक कांग्रेसको झण्डा कतै बाटोमा छरपस्ट देख्दा, त्यसलाई उठाउँदै भन्थे, कांग्रेसको झण्डा कहिले ढल्न दिनुहुन्न । हो, मलाई जस्तै जोकोहीलाई पनि ती बालकको कांग्रेसप्रतिको प्रेम भनौं या आकर्षण, किन यसरी कांग्रेस…कांग्रेस भन्दै छ भन्ने लाग्ला, या कुनै कथाको पात्र लाग्न सक्छ ।

विद्यालय पढ्दै गरेका अटलको मुखमा झुण्डिएको कांग्रेस…कांग्रेसको हुंकार अनि सुत्ने बेला सिरानीको आड लगाएर राख्थे र यो झण्डा ढल्न दिनुहुन भन्दै निदाउथे, म चकित हुन्थेँ । तर त्यो सानो बालकको मन भने कांग्रेस कै झण्डासँग गाँसिएको थियो ।

त्यो उपनिर्वाचनको माहोल थियो । तनहुँका गाउँ गाउँमा कांग्रेसका पोस्टर, झण्डा र नारा घन्किरहेका थिए । प्रचार प्रसारका क्रममा एक दिन अटलले आफ्ना छिमेकी दिदी–भाइहरूसँग कांग्रेसको झण्डा मागे र झण्डालाई समर्थन दिने सानो काठ सहित आफ्नो सिरानी मुनि राखेर निदाए । गाउँभरि नयाँ दल तथा शक्तिकोे हावा पनि राम्रैगरि चलेको थियो । जनता भन्न थालेका थिए, अब नयाँ पार्टीतिर लाग्नुपर्छ । अटलकी आमा छोरासँग जिस्किँदै भन्ने गर्थिन्, “बाबु, कांग्रेस त पुरानो भइसक्यो नि अब हामी नयाँ पार्टीमा लाग्नुपर्छ ।”

नाम जस्तै अटल र अडिग बालकको जवाफ आउँथ्यो, “हजुरहरू लाग्ने भए लाग्नुस्, तर मलाई त कांग्रेस नै मन पर्छ। म कांग्रेसलाई छोड्दिन । यो जवाफ सुन्दा मेरा आँखा रसाए, केही नबोली बालकलाई एकटक हेरिरहेँ । मलाई लाग्यो, एउटा बालकको कलिलो मन र मस्तिष्कमा कांग्रेसको झण्डाप्रति पलाएको निष्कलंक प्रेम, जसलाई न लोभले डग्मगाउन सक्छ, न त कुनै पराजयले नै विचलित पार्न सक्छ । तीे बालक जो कांग्रेसको न कुनै सिद्धान्त न त कुनै विचार बारे जानकार छ ।

एउटा अबोध बालकको प्रेमले दिएको गहिरो अनुभूति, जसले मलाई “अटल” को बारेमा नलेखि बस्नै सकिएन । अनुभूति मात्र नभई मेरो लागि यो एउटा पाठ पनि थियो । हो, राजनीति एउटा सिद्धान्त, नेतृत्व र रणनीतिभन्दा पर पनि अनुभूति, जुन कुनै किताबको पानामा मात्र सीमित हुँदैन, न कुनै भाषणको गर्जनमै अड्किन्छ । यो त हृदयबाट प्रस्फुटन हुने भावना हो । त्यो भावना जुन पुस्तौं पुस्तासम्म अटुट रहन्छ । नेपाली कांग्रेस पनि यस्तै एउटा भावना हो । हो “कांग्रेस बनेर होइन, बाँचेर देखाउन रहेछ ।”

समयले फेरि नयाँ मोड लियो। चुनावको नतिजा आयो । कांग्रेस पराजित भयो। एक बिहान स्कुल जाँदै गर्दा बालककी आमाले जिस्काउँदै नयाँ दलको कार्यालय देखाउँदै भनिन्, “अब नयाँ पार्टीले जित्यो, यही पार्टीमा लागे हुन्छ है बाबु ।”

तर अटलको जवाफ उस्तै अडिग र मन रुवाउने थियो, “हजुरहरू लाग्नुस्, तर मलाई त कांग्रेस मन पर्छ । म कांग्रेसलाई छोड्दिन ।” सानो बालकमा कांग्रेसप्रतिको आत्मीय भाव सुनेर मेरो हृदय काँप्यो । मलाई लाग्यो कांग्रेसको शक्ति केमा छ भने, त्यो कुनै व्यक्तिमा अडेको छैन। कुनै पदमा निर्भर छैन। यसको जरा त ती निष्ठावान आत्माहरूमा गाडिएको छ। जो पराजयले झुकेनन्, लोभले बिकेनन् र समयको हावाले पनि डग्मगाएनन्।

हो, कांग्रेसलाई सुधार्नुपर्छ। तर सुधार्न नसक्ने हो भने, कम्तीमा बिगार्ने काम नगरौं। किनकि यो पार्टी कुनै सत्ताका भरियाहरूको सम्पत्ति होइन यो त त्यही सानो बालकको निश्चल माया हो । केहि महिना अघि तनहुँ जाँदा अटललाई के लगिदिउँ सोचेँ, मनलाई नबाँधी बालक खुशी हुने आशामा कांग्रेसप्रतिको आत्मीयताले एउटा ठूलो कांग्रेसको झण्डा बनाएर लगिदिएँ । खुशी हुँदै झण्डा समात्दै उसले भन्यो, “यो झण्डा कहिल्यै छाड्दिन ।”

त्यो कलिलो अनुहारमा मैले कांग्रेसको भविष्य देखेँ । त्यसैले “कांग्रेस बनेर होइन, बाँचेर देखाउने रहेछ ।”

Skip This