Logo

‘जनताले ‘तपाईँमाथि नै भरोसा छ’ भनेर आँखाभरी आँसु निकाल्छन्’



काठमाडौं, ९ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनबाट भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिने बताएका छन् । आज (शनिबार) जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित जगरण सभालाई सम्बोधन गर्दै उनले एकतावद्ध भएर अगाडि बढ्दा ०८४ मा जनताको असली राज फर्किने बताएका हुन् ।

‘विद्यार्थीहरुको स्ववियु निर्वाचनले २०६४ को झल्का देखिएको बताउँदै प्रचण्डले भने, ‘२०८४ मा सबै एक भएर सबैले मेहनत गर्यौं भने यी भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सिद्दिन्छ । जनताको असली राज आउँछ भन्ने म तपाईँहरुमाझ विश्वास व्यक्त गर्न चाहन्छु । हामी सबै एकचोटी एकतावद्ध भएर अगाडि जाने हो,’– उनले भने ।

साथै, प्रचण्डले अब विभिन्न धारमा विभाजित भएका माओवादीहरु एक हुनुको विकल्प नरहेको बताए । उनले एकताका लागि आफूले गर्नुपर्ने सबै गर्न तयार रहेको पनि सुनाए । उनले भने, ‘माओवादीहरु सबै एक हुन्छन् अब । त्यसमा तपाईँहरु शंका गर्नुपर्दैन । सबै आउनुको कुनै विकल्प नै छैन । मैले त्यसको निम्ति के कति गर्नुपर्ने हो, सबै गर्छु मैले । यो देशमा हामीले अर्को असाधारण रिकर्ड बनाउनुपर्छ ।’

साथै, आफू अभियानका क्रममा रहँदा जनताले आँखाभरी आँसु पार्दै ‘तपाईँमाथि नै भरोसुा छ’ भनिरहेको पनि उनले बताए । उनले बुढाबुढी र युवाहरुले आफूमाथि गरेको भरोसाले उर्जा प्रदान गरेको पनि बताए । ‘तपाईँहरुलाई कहिलेकाहीँ लाग्छ होला, विहानै डौडेर मर्निङवाक गरेको छ । जनताको घर–घरमा पसेर फूल लिएको छ । मानिसहरु बाहिर निस्किएर अब तपाईँमाथि नै भरोसा छ भनेर आँखाभरी आँशु निकाल्छन् । बुढाबुढी, युवा युवतीहरु, बालबच्चाहरु । नेताहरुको लागि यो उर्जा हुँदो रहेछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्