
काठमाडौं, ९ चैत । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केवलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाएका छन् । प्रेस सेन्टरले फुङ्लिङमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पाथीभरा राष्ट्रको धार्मिक धरोहर भएकाले यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय समुदाय तथा सरोकार भएकाले संयुक्त जिम्मेवारी रहेको बताएका हुन् ।
हाल पाथीभरा केबलकार निर्माणलाई लिएर स्थानीय समुदायका केही समूहले विरोध जनाएका छन् । पूर्वमन्त्री शर्माले विवाद समाधानका लागि संवाद, सहकार्य र समन्वय आवश्यक रहेको भन्दै सरकारलाई स्थानीय समुदायको भावनाअनुसार अघि बढ्न सुझाव दिए ।
स्थानीय सहमति प्रमुख आवश्यकता भएको उल्लेख गर्दै नेता शर्माले सबै पक्षको चासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । File Photo/RN