काठमाडौं, ९ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अकर्मण्यता, नीतिहीनता र आलस्यतालाई जारी राख्ने हो भोलि पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी पस्दैनन् भन्ने कुनै ग्यारेन्टी नरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अकर्मण्यता, नीतिहीनता र निष्कृयताकै कारण अहिले प्रतिगमनकारीहरु सल्बलाएको बताए । शासकहरु निष्कृय भएर आफ्नो नीति, मूल्य र मान्यता भुलेको खण्डमा राजनीतिमा असम्भव भनिएका कुराहरु नै सम्भव हुने उनको भनाइ छ ।
‘यस्तै अकर्मण्यता, नीतिहीनता र आलस्यतालाई जारी राख्ने हो भने ज्ञानेन्द्र आएर भोलि नारायणहिटीमा बस्दैनन् भन्ने के ग्यारेन्टी छ ? जब मान्छे निष्कृय हुन्छ, जब उसले आफ्ना मूल्य मान्यतालाई भुल्छ । उसका कर्तव्यलाई भुल्छ भने जे पनि सम्भव हुन्छ । यही निष्कृयता र अकर्मण्यताको कारणले देशमा अहिले प्रतिगमनकारीहरु सल्बलाउँदैछन्,’– उनले भने ।
साथै, प्रतिगमनकारीहरुको अहिलेको सल्बलाहटलाई रोक्न र देशलाई आमूल परिवर्तनको दिशातर्फ लान नीतिको आवश्यक पर्ने उनले बताए । नत्र भने कहिलेकाहीँ गंगा नदी उल्टो पनि बग्न सक्ने उनको चेतावनी छ । ‘नत्र भने कहिलेकाहीँ उल्टी गंगा बहन्छ । त्यो उल्टी गंगा वहने खतरा छ अहिले पनि,’– उनले भने ।
साथै, एकीकृत समाजवादीको महाधिवेशन सकिएको १० महिनासम्म पनि दस्तावेजहरु प्रकाशित हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
प्रतिक्रिया