काठमाडौं, चैत १० । युद्धविरामकै बीच लेबनानबाट इजरायली सेनालाई लक्षित गरी आक्रमण गरिएपछि इजरायली सेनाले पनि भीषण आक्रमण गरेको छ ।
इजरायलले झण्डै पाँच महिनापछि लेबनानमा पुनः आक्रमण गरेको छ । गत नोभेम्बरमा युद्धविराम लागू भएयताको यो सबैभन्दा घातक आक्रमण हो ।
इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित मिलिसिया र राजनीतिक समूह हिज्बुल्लाहसँग सम्बन्धित दर्जनौं रकेट लन्चर कमाण्ड सेन्टरमा प्रहार गरिएको बताएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको छ । घटनामा अन्य ४० जना घाइते भएका छन् ।
लेबनानमा धेरै सशस्त्र समूहहरू सक्रिय छन् । जसमा हिज्बुल्लाह र प्यालेस्टाइनी गुटहरू समेत रहेका छन् । इजरायलमा गरिएको आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।
पहिलो आक्रमणको केही घण्टा पछि इजरायली सेनाले कमाण्ड सेन्टर, पूर्वाधार क्षेत्र र लेबनानमा हतियार भण्डारण क्षेत्रमा राति नै दोस्रो आक्रमण गरेको हो ।
प्रतिक्रिया