काठमाडौं, १० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले डा.बाबुराम भट्टराईलाई राजनीतिक रुपमा अस्वीकार गर्नु नेपालीहरुको लागि ठूलो दुर्भाग्य रहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता चौधरीले डा.भट्टराईको राजनीतिक इतिहासमा कहीँ कतै त्रुटि नै नरहेको बताए । उनले डा. भट्टराईले आफ्नो टाउकोमाथि दोषमात्रै लिएर भएपनि मुलुक सिगार्ने र बनाउने सपना देखेको बताए । डा.भट्टराई भूइँमान्छेको आवाज बोल्ने नेता रहेको र उनीमा अहमता र ठूलो मान्छे हुँ भन्ने भावना नरहेको नेता चौधरीले बताए । नेता चौधरीले आफू डा.भट्राईको विद्वताबाट प्रभावित रहेको र उनको ठूलो प्रसंशक रहेको बताए ।
नेता चौधरीले जनमत र नाउपाबीचको पार्टी एकताको प्रक्रियासँग डा.भट्टराईसँग पनि छलफल भएको बताए । सो छलफलको क्रममा डा.भट्टराईले तपाईँहरु अगाडि बढ्नुस् म मुनि बसेर भएपनि तपाईँहरुको एकता प्रक्रियामा साथ दिन्छु भनेर वचन दिएको पनि उनले सुनाए । नेता चौधरीले डा.भट्टराईले तपाईँहरु हातेमालो गर्नुस्, त्यसमा मानुषीको पनि हात हुनुपर्छ भनेर आफूहरुलाई भनेको बताए ।
‘म, डा.सिके राउत र डा.बाबुराम भट्टराई एकैदिन वार्ताको टेबुलमा बसेका थियौं । दुई घण्टा डा.बाबुराम भट्टराईसँग बसेँ । तीन घण्टा डा.सिके राउतसँग बसेँ । डा.बाबुराम भट्टराईले भन्नु भएको थियो– रेशमजी म सधैं समर्पित, सधैं तपाईँहरुलाई सम्मान गरिरहेँ । सधैं स्वीकार गरिरहेँ । तपाईँहरुको पार्टी एकतामा म मुनि बसेर भएपनि तपाईँहरुलाई सहयोग गर्न चाहन्छु । तपाईँहरुले, युवाहरुले, एक हातेमालो भएर अगाडि बढ्नुपर्छ । तपाईँहरुको हातेमालोमा मानुषीजीहरुको हात पनि हुनुपर्छ । सबै जना मिलेर जानुस् न देशभरीबाट राम्रो सन्देश आउला कि ? मैल तपाईँलाई अघि भनिसकेँ हामी अस्वीकारको राजनीति गर्दैनौं,’– नेता चौधरीले भने ।
यो पनि पढ्नुहोस्ः नाउपा र जनमतको एकतामा बाबुरामको साथ, मानुषीलाई उतै पठाइदिने वचन
देश बनाउनका लागि सबै एकजुट भएर पार्टी एकताको प्रक्रियामा लाग्नुपर्ने बताए । डा.भट्टराई महान मान्छे रहेको र आफूहरुको लागि कहिले पनि गलत नसोचेको उनले बताए । उनले डा.भट्टराईको विद्वतालाई नेपालले सदुपयोग गर्न नसकेको बताए । File Photo/RN
प्रतिक्रिया