काठमाडौं, १० चैत । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको साँठगाँठको नतिजाको संज्ञा दिएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार विचौलियाको घरमा मध्यराति देउवा–ओलीले सिग्नेचर गरेर बनाएकाले यसलाई जनताको सरकार भन्न नमिल्ने बताएका हुन् ।
‘यो सरकार जनादेशविपरीत बनेको हो । जनादेशबाट बनेको होइन, ओली र देउवाको साँठगाँठको नतिजा हो । मध्यरातमा कुनै निर्वाचत संस्था आएर बनेको होइन । विचौलियाको घरमा दुई अध्यक्षको सिग्नेचरबाट बनेको सरकार हो । सांसद त लाचार छन्, नेताहरुको पक्षमा ताली बजाउनै पर्छ,’– उनले भने ।
नेता साहले कांग्रेस–एमालेले सात बुँदे सम्झौताको आधारमा सरकार बनाएको भएपनि त्यो सम्झौता कहीँकतै लागू नभएको बताए । उनले वर्तमान सरकार एउटा साधारण विधेयक पारित गराउनसमेत असक्षम सावित भइसकेको बताए । साथै, वर्तमान सरकारले अध्यादेश पनि बीच बाटोमै छाडिदिएको बताए ।
वर्तमान सरकार अप्रजातान्त्रिक, अप्राकृतिक र अनैतिक रहेको उनले बताए । यस्तो सरकारले देशलाई भलाइ नगर्ने उनको दाबी छ । एमाले–कांग्रेसको विचार, सिद्धान्त केही पनि नमिल्ने अवस्थामा निर्वाचन आयोग लाचार भएको कारणमात्रै सरकार टिक्न सकेको उनले बताए । निर्वाचनको समयमा जनताबीचमा गएर गरेको वाचाविपरीत सरकार बनाने दलहरुलाई कानुन लाग्नुपर्ने उनले बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिरस्कृत नेताको रुपमा चित्रण गरे । अोलीलाई जनताले बहिस्कार गरिसकेको र उनलाई जनताले प्रधानमन्त्री नै नमानेको नेता साहको दाबी छ । प्रधानमन्त्री ओलीकै कारण देशमा सङ्कट बढ्दै गएको र अब उनले पदबाट राजीनामा दिँदा उपयुक्त हुने बताए । ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएको खण्डमामात्रै देशले राहत पाउने उनको भनाइ छ ।
प्रतिक्रिया