हप्तामा एकचोटी पत्रकार सम्मेलन गरेर आरोपहरु खण्डन गर्न सरकारलाई एमाले नेता बडालको सुझाव

1.4k
Shares

काठमाडौं, १० चैत । नेकपा (एमाले) का नेता केशब बडालले सरकारले हप्तामा एकचोटी पत्रकार सम्मेलनमार्फत झुठा आरोपहरुको खण्डन गर्नुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आरोपहरुको खण्डन नगर्दा जनतामा भ्रम सिर्जना भइरहेको र प्रतिगमनकारीहरुले अन्तरविरोधमा खेल्ने अवसर पाएको बताएका हुन् ।

‘जनताका जायज कुरालाई सम्बोधन गर्ने र झुठा आरोपहरुलाई विधिवत ढङ्गले हप्तामा एकचोटी पत्रकार सम्मेलन गरेर खण्डन गर्ने । यी कुरा चाहीँ असत्य कुरा आएको छ भन्नुपर्ने भयो । नत्र जनतामा कन्फ्युजन बढ्यो । सबै बिग्रियो, नासियो, भत्कियो भनेर प्रगति हुन नदिन, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता र अखण्डतालाई बलियो हुन नदिन, समृद्ध नेपाल र सुखी नेपाली हुनै नदिन आन्तरिक र बाह्य शक्तिहरु लामै समयदेखि लाग्दै आएका छन् । जति अन्तर्विरोध भयो, त्यति त्यहाँ छिर्न पाइन्छ भन्ने भावनाहरु पनि छ,’– उनले भने ।

साथै, अहिलेको सरकारलाई असफल हुने छुट नरहेको उनले बताए । जनताको समस्या समाधान गर्न सरकार सफल हुनुपर्ने बताए । नेता बडालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार बाहिर बस्नै नसक्ने बताए । सरकार बाहिर रहँदा प्रचण्डमा अहिले छट्पटी बढिरहेको बताए । नेता बडालले संविधान विरोधीको र प्रचण्डको भाषा अहिले एकै भएर आइरकेको समेत आरोप लगाए । File Photo/RN