काठमाडौँ, १० चैत । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अत्याधुनिक प्रविधिमार्फत पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई मजबुद बनाउने काममा सरकार लागिरहेको बताउनुभएको छ ।
‘सबैका लागि समयमै पूर्वसूचना’ भन्ने मूल नाराका साथ जल तथा उर्जा आयोगको सचिवालयले विश्व मौसम दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले विपद्को जोखिममा रहेका जनताको जीवनरक्षाका लागि सरकारले प्रविधिमार्फत पूर्वसूचना प्रणालीलाई मजबुद बनाउन लागेको बताउनुभएको हो ।
उहाँले पछिल्ला वर्षमा बाढी पूर्वसूचना प्रणालीका कारण जनधनको रक्षा गर्न धेरै सफलता मिलेको बताउनुभयो । जल तथा मौसमी भविष्यवाणीका लागि कम्प्युटर मोडेल, राडार प्रणाली, तथा सेटेलाइट प्रविधि को प्रयोगलाई सरकारले विस्तार गर्दै लगेको उहाँले बताउनुभयो ।
मोबाइल प्रविधिको उपयोग गरेर ग्रामीण भेगसम्म पूर्वसूचना सेवा विस्तार भइरहेको उहाँको भनाई थियो । उहाँले जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा च्छो रोल्पा र ईम्जा हिमतालको जलस्तर घटाउने काम सफलतापूर्वक सम्पन्न भएको बताउँदै यस्ता कार्यले हिमतालजन्य बाढी जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुगेको उल्लेख गर्नुभयो ।
मन्त्री खड्काले नेपालका धेरैजसो जलविद्युत परियोजनाहरू, सिंचाइ योजना र दैनिक उपभोगका लागि उपलब्ध पानीको स्रोतको मुख्य आधार हिमनदी भएकाले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दै हिमनदीहरूको संरक्षण, समयमै पूर्वसूचना प्रणालीको सुदृढीकरण र जोखिम न्यूनीकरणका उपायलाई अगाडि बढाउनु प्रमुख प्राथमिकता भएको बताउनुभयो ।
उहाँले नेपालका हिमनदीहरु साना हुँदै गएको बताउँदै यसको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत् आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको उल्लेख गर्नुभयो ।
“भविष्यमा आउन सक्ने जोखिमलाई मध्यनजर गरि अहिले नै उचित तयारी सुरु गरिएन भने भविष्यमा नेपालको जल सुरक्षामा गम्भीर सङ्कट निम्तिन सक्छ, हिमनदीको संरक्षण एवम् जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहकार्य गर्न हामी अन्तर्राष्ट्रिय समुदायसँग समेत हातेमालो गर्दै अगाडि बढिरहेका छौँ,”– उहाँले भन्नुभयो ।
मन्त्री खड्काले हरित जलवायु कोषको सहयोगमा सरकारले संखुवासभाको तल्लो वरुण हिमताल, सोलुखुम्बुका लुम्दिङ र होङ्गु हिमताल तथा मनाङ जिल्लाको ठुलागी हिमताल गरी थप चारवटा हिमतालमा जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणाली जडान गर्नको लागि परियोजना अगाडि बढाउन लागेको बताउनुभयो ।
सरकारले भविष्यमा प्रभावमा आधारित पूर्वानुमान प्रणालीलाई देशभरका सबै प्रदेश तथा नदी बेसिनहरूमा लागू गर्ने उहाँको भनाई थियो ।
विगत लामो समयदेखि जल तथा मौसम विज्ञान सेवा सञ्चालनको लागि नीतिगत व्यवस्था नभएकोमा मन्त्रालयको नेतृत्वमा जल तथा मौसम विज्ञान नीति, २०८१ तर्जुमा गरी लागू गरिएको मन्त्री खड्काले बताउनुभयो । उहाँले खोलामा रहेका वस्तीलाई व्यवस्थित गर्न र जनधनको क्षतिलाई न्यूनीकरण गर्न सरकार लागिरेहको बताउनुभयो ।
उर्जामन्त्री खड्काले स्रोतको अधिकतम प्रयोग गरी गरिब तथा विपन्न वर्गलाई समृद्ध बनाउने यात्रामा सरकार लागिरहेको बताउनुभयो । उहाँले आगामी वर्ष जोखिमलाई ध्यानमा राखेर वजेट निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । वातावरणीय सन्तुलनलाई कायम गरेर विकास निर्माणलाई अगाडि बढाउन सरकार लागेको उहाँको भनाई थियो ।
“बाढी पहिरोबाट हुने सम्भावित क्षतिलाई रोक्नका लागि नागरिकलाई समयमै सूचना प्रदान गरेर क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ, सरकारले यसैमा काम गरिरहेको छ, सबैको सहयोग हुने विश्वास लिएको छु,”– उहाँले भन्नुभयो ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरीता दवाडीले हिमताल विष्फोटका घटना दिन प्रतिदिन बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकारले विभिन्न योजना बनाइरहेको बताउनुभयो । जल तथा मौसम विज्ञान विभागको सेवालाई थप विकास र विस्तार गरी अगाडि बढाइने उहाँको भनाई थियो ।
जल तथा उर्जा आयोगका सचिवालयका सचिव मधुप्रसाद भेटुवालले जल तथा मौसम सेवा, जलवायु अनुकूलन र हिमनदी संरक्षणको क्षेत्रमा सरकारले विभिन्न निकायसँगको सहकार्यमा विभिन्न कार्यक्रमलाई अगाडि बढाइरहेको बताउनुभयो । नेपालले विस २०६५ सालदेखि मार्च २३ लाई विश्व मौसम दिवसका रुपमा मनाउन सुरु गरेको हो ।
प्रतिक्रिया