काठमाडौं, १० चैत्र । गणतान्त्रिक व्यवस्थामाथि चूनौति थपिएको र विभिन्न शक्तिहरुको षड्यन्त्रले व्यवस्थामाथि धावा बोलिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अगुवाईमा समाजवादी मोर्चाले काठमाडौंमा गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
फागुन २५ गते यता राजावादीहरुले सडक संघर्ष गरिरहेको र राजा फर्काउने नारा लगाउन थालेपछि प्रचण्ड पार्टीको घोषित कार्यक्रम स्थगन् गरेर काठमाडौं फर्किएपछि चैत्र १५ गतेलाई शक्ति प्रदर्शन गर्ने मिति तय गरेका हुन् । सुरुमा माओवादी एक्लैले गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने भनेको थियो ।
तर, पछि समाजवादी मोर्चाले नै संयुक्त रुपमा राजावादीहरुको आन्दोलनलाई प्रतिकार गर्नुपर्ने मत बलियो बनेपछि दाहालले सोहीअनुसार निर्णय लिएका हुन् । उता, राजावादी आन्दोलनको अगुवाको रुपमा दुर्गा प्रसाईं मैदानमा उत्रिएका छन् । प्रसाईंकै पहलमा उनलेपनि चैत्र १५ गतेलाई नै राजावादीहरुको आन्दोलन घोषणा गरिएको छ ।
समाजवादी मोर्चाले भृकुटीमण्डप बुक गरेको छ । प्रसाईंले भने तिनकुनेमा शक्ति देखाउने भनेका छन् । प्रचण्ड चैत्र १५ गतेको कार्यक्रमको तयारीको लागि आज काठमाडौं आउँदैछन् । रोकिएको बारा, पर्सा र चितवनको कार्यक्रम समापन गरेर दाहाल आज साँझ काठमाडौं आईपुग्ने उनको सचिवालयले जनाएको छ । आजै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई संयुक्त भेट्ने चर्चा छ । यद्धपी यो भेट टिआरसी टुँगो लगाउने विषयमा केन्द्रित हुने भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै विपक्षी दलका नेता प्रचण्डसँग भेटवार्ता गर्न चाहेको खुलासा भैसकेको छ । स्वयम ओलीले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नको लागि प्रचण्डसँग भेट्न चाहिरहेको तर प्रचण्डले समय दिन नसकेको संसद्मार्फत नै खुलासा गरेका थिए । राजावादीहरुको आन्दोलन चर्किरहेको बेलामा प्रमुख तीन दलका नेतृत्वकर्ताहरुबीच आज हुने भेटवार्तामा त्यसबारेमा पनि चर्चा हुने बताईएको छ ।
यसअघि गणतन्त्र पक्षधरहरु एकजुट हुनुपर्ने आवाज उठिरहेको छ । कतिपय नेताले त तत्कालै परिस्थितिलाई ठीक ढंगले आँकलन गर्न सुझाएका छन् । एमालेले पनि सडक संघर्षका कार्यक्रम सार्वजनिक गरिसकेको छ । एमालेले यही चैत्र ११ गतेबाट सडकमा उत्रिँदैछ । तर, प्रमुख दल नेपाली कांग्रेसले भने कुनैपनि कार्यक्रम अहिलेसम्म घोषणा गरेको छैन् ।
गणतन्त्र भर्सेस राजतन्त्रको संघर्षजस्तो देखाएर शक्ति प्रदर्शन हुन थालेपछि सुरक्षा संयन्त्र अहिले सक्रिय भएको छ । एकीकृत सुरक्षा संयन्त्रको बैठक बसिरहेका छन् । अहिले सूरक्षा संयन्त्रको ध्यान चैत्र १५ गतेको दुई वटा शक्ति प्रदर्शनमा केन्द्रित छ । एउटा शक्ति प्रदर्शनको नेतृत्व प्रचण्डले गर्नेछन् । अर्कोको भने दुर्गा प्रसाईले गर्दैछन् । राजावादीहरु अहिले जसको अगुवाईमा कार्यक्रम भएपनि मिलेर जाने पक्षमा पुगेकोले प्रसाईंको १५ चैत्रको कार्यक्रम ठुलो हुने चर्चा छ ।
प्रतिक्रिया