काठमाडौं, १० चैत राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कार्यप्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् । बागमती प्रदेशसभा सदस्य हुँदादेखि आफूले गरेका कार्यहरुको प्रगति विवरण प्रतिवेदनमार्फत सार्वजनिक गर्दै आएका प्रतिनिधिसभा सदस्य श्रेष्ठले आव २०८०/८१ को कार्यप्रगति प्रतिवेदन शनिबार सार्वजनिक गरेका हुन् ।
यो श्रेष्ठको सातौँ वार्षिक कार्यप्रगति प्रतिवेदन हो । प्रतिवेदनमा श्रेष्ठको संसदीय यात्रा, संसदमा उठाइएका प्रश्न, नीति निर्माणका प्रयास, जनताको पक्षमा लिइएका निर्णय तथा आगामी योजनाहरू समेटिएका छन् ।
‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै जनप्रतिनिधि जनताको अघि उत्तरदायी हुनु हो। यही सिद्धान्तलाई आत्मसात् गर्दै मैले प्रतिवेदन सार्वजनिक गर्ने अभ्यासलाई संसदीय संस्कृतिको एउटा हिस्सा बनाउन खोजेको हुँ,’ श्रेष्ठले भने ।
लोकतन्त्रका प्रमुख आधारका रुपमा रहेका जनताको विश्वास, पारदर्शिता, र जबाफदेहिताको मूल्यलाई कायम राख्दै सातौँ वार्षिक कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको उनले बताए । ‘प्रतिवेदनमा संसदमा उठाइएका मुख्य मुद्दाहरू, नीति निर्माणमा निर्वाह गरेको भूमिका, जनतासँगको प्रत्यक्ष संवाद, र भविष्यका योजनाहरू समेटिएका छन्,’ उनले भने, ‘यो प्रतिवेदन केवल उपलब्धिहरूको दस्ताबेज मात्र होइन, जनतासँगको साझा यात्राको प्रतिबिम्ब हो, जहाँ प्रत्येक आवाजले परिवर्तनको आधार तयार गर्छ ।’
प्रतिक्रिया