काठमाडौं, १० चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले छिमेकी मुलुक भारतले विजुली नदिने हो भने अहिले पनि लोडसेडिङ व्यहोर्नुपर्ने आवस्था रहेको बताएका छन् । आज (आइतबार) प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको संविधान जारी हुनेबेलासम्म नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको उनले सुनाए ।
एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री भएपछि देशमा लोडसेडिङको समस्या समाधान गर्नेतर्फ लागेको उनले बताए । नेता पोखरेलले अहिले ३ हजार मेगावाट भन्दा बढी विजुली उत्पादन भइहेको पनि बताए ।
‘आज हरेको घर–घरमा विजुली पुगेको छ, उज्यालो नेपाल बनाएका छौं । म तपाईँहरुलाई भन्छु– केपी ओली प्रधानमन्त्री हुने समयमा भएको समयमा १८÷१८ घण्टा लोडसेडिङ हुन्थ्यो । जतिबेला हामीले संविधान जारी गरेका थियौं, त्यतिबेला मुलुकको हालत के थियो, १८ घण्टा लोडसेडिङ हुन्थ्यो । आज हामी विजुली निर्यात गर्ने ठाउँमा पुगेका छौं । त्यतिबेला विजुली कति उत्पादन हुने गरेको रहेछ र अहिले कति हुन्छ भन्ने कुरा गर्ने हो भने आज ३ हजार मेगावाट भन्दा बढी विजुली उत्पादन हुन्छ । तर पनि अफ सिजनमा अहिले पनि विजुली पुगेको छैन । भारतले दिएन भने लोडसेडिङ ब्यहोर्नुपर्ने अवस्था अहिले पनि छदै छ,’– उनले भने ।
साथै, उनले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित गर्दैै जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक युगमा स्विकार्य नरहेको बताए । ‘जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा किमार्थ स्विकार्य होइन,’– उनले भने ।
प्रतिक्रिया