काठमाडौं, १० चैत । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेलाल सिराहा जिल्लाका अध्यक्ष अशोक कुमार यादवले औरहीको गाउँपालिका अध्यक्ष शिवजी यादवलाई स–सम्मान थुनामुक्त गरिनुपर्ने माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापन पत्र बुझाउँदै शिवजी यादवसहित पक्राउ परेकाहरुलाई स–सम्मान थुनामुक्त नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनले आन्दोलनबाट उत्पन्न हुने विषम परिस्थिती र क्षतिको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धित सरोकारवालाहरुले लिनुपर्नेसमेत बताएका छन् ।
औरही–५ मा महायज्ञ लगाउने नाममा दीपक मलिक (डोम) को घरवार भत्काइएको थियो । मलिकको परिवार त्यो ठाउँमा विगत ३० वर्षदेखि बस्दै आएको र ५ वर्षअघि मात्र ‘जनता आवास कार्यक्रम’ अन्तर्गत उक्त घर बनाएर बसोबास गर्दै आएको बताइएको छ ।
‘शिवजी यादवलगायतका व्यक्तिहरुमाथी राजनीतिक प्रतिशोधका कारण कपोलकल्पित रुपमा छुवाछुतको मुद्दालगाई प्रताडित गरि थुनामा राखेको हुँदा जनता समाजवादी पार्टी नेपाल, सिरहाको गम्भीर ध्याणाकर्षण भएको छ । तसर्थ उक्त झुठा आरोपमा गा.पा.अध्यक्ष जस्तो मर्यादित व्यक्ति लगायत अरु व्यक्तीहरु र ती व्यक्तिहरुले चढि आएको मोटरसाइकल समेत भित्र राखेको हुँदा नीज अध्यक्ष लगायत सम्पूर्ण गिरफ्तार गरिएका व्यक्तिहरुलाई अविलम्ब स–सम्मान थुना मुक्त गर्न जसपा नेपाल, सिराहा जोडदार माग गर्दछ,’– ज्ञापन पत्रमा भनिएको छ ।
प्रतिक्रिया