माओवादीले चाह्यो भने यो सरकार छिट्टै ढल्छः सुदन किराती (भिडिओसहित)

0
Shares

काठमाडौं, १२ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले आफ्नो पार्टीले चाहेको खण्डमा वर्तमान सरकार छिट्टै ढल्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार ढल्ने मिति नै तोक्न नसके पनि माओवादीले चाहेको खण्डमा छिट्टै ढल्ने बताएका हुन् । ‘माओवादीले चाह्यो भने यो सरकार छिट्टै ढल्छ,’– उनले भने ।

नेता किरातीले अहिले आफूहरु सरकार ढाल्ने र बनाउनेतिर नरहेर जनतातर्फ केन्द्रीत भइरहेको पनि बताए । उनले सरकार बनाउने कुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल भएको भन्ने कुरामा कुनै सत्यता नरहेको आफ्नो जानकारीमासमेत नरहेको बताए ।

साथै, माओवादी केन्द्रसहितको समाजावादी मोर्चाले आगामी चैत १५ गते गर्ने प्रदर्शन राजतन्त्रवादी र वर्तमान सरकारको बेथितिविरुद्धको प्रहार रहेको पनि उनले बताए । अहिले माओवादीको काँधमा व्यवस्थाको रक्षा र सरकारको गलत क्रियाकलापहरुको भण्डाफोर गर्ने दायित्व आइलागेको पनि उनले बताए ।

‘अहिले माओवादीमा दुईवटा जिम्मेवारी आयो । एउटा सरकरले गरेको भ्रष्टाचारी, जनविरोधी जुन कार्य छ, त्यसको पनि हामीले भण्डाफोर गर्नुछ । अर्कोतिर संविधानविपरीत अराजक ढंगले जुन हर्कत भइरहेको छ, त्यसको पनि विरोध गर्नुछ । हाम्रो पहिलो प्रहार चाहीँ व्यवस्था जोगाउनकै लागि हुन्छ,’– नेता किरातीले भने ।