देउवाजी झुक्किनुभयो, ओलीलाई प्रधानमन्त्री बनाउनु नै बिडम्बना होः माओवादी सचिव खनाल

0
Shares

काठमाडौं, ११ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनु नै बिडम्बना रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्ना केही सारथीहरुलाई बचाउनका लागि कांग्रेस सभापति देउवाले झुक्किएर ओलीलाई प्रधानमन्त्री बनाएको बताएका हुन् ।

नेता खनालले प्रधानमन्त्री ओली विगतमै दुई÷दुई पटक फेल भएर नालायक शिद्ध भइसकेको बताए । उनले ओलीलाई ‘असक्षम नेतृत्व’ को संज्ञा दिए । नेता खनालले भने,‘एमाले–कांग्रेसले जसरी गर्नुपर्थ्यो, अहिले यो गठबन्धन सरकार करिब–करिब दुई तिहाइको हुँदा पनि गर्न नसक्नुको पछाडि मलाई के लाग्छ भने– असक्षम नेतृत्व हो । किनभनेदेखि ओलीजी चाहिँ दुई पटक फेल भइसक्नु भयो । दुई तिहाइको सरकार त्यतिबेला नेकपा हुँदा, आफ्नो पार्टी तोडफोड गरेर सबै सिध्याउने र त्यो सरकारको नेतृत्व गर्न नसक्ने नालायक प्रधानमन्त्री पनि उहाँ हो । अहिले पनि त्यो कुरा नबुझेर देउवाजी झुक्निुभयो । आफ्ना केही सारथीहरुलाई बचाउनको लागि गएर ओलीलाई प्रधानमन्त्री बनाउनु नै विडम्बना हो । किनभने ती मान्छे सक्षम होइनन् ।’

नेता खनालले कांग्रेस–एमालेको सरकारले सक्दैन र माओवादी सरकारमा गएपछि भने सबै चिज सकिन्छ, सम्भव हुन्छ भन्ने कुरामा भने आफूलाई विश्वास नरहेको बताए । तर, माओवादीले केही फरक गरेर देखाउने कुरा भने विगतका क्रियाकलापले नै पुष्टि गरिसकेको पनि उनले बताए । File Photo/RN