करिब ५७ प्रतिशत खपत गर्ने क्षेत्रलाई १४ देखि १६ घण्टासम्म विजुली नदिएर लोडसेडिङ अन्त्य भयो भन्न मिल्दैनः पूर्वकार्यकारी निर्देशक काफ्ले

14
Shares

काठमाडौं, ११ चैत । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले नेपालमा लोडसेडिङ अन्त्य भइनसकेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले औद्योगिक क्षेत्रलाई दैनिक १४ देखि १६ घण्टासम्म विजुली नदिएर लोडसेडिङ अनत्य भयो भन्न नसकिने बताएका हुन् । पूर्व कार्यकारी निर्देशक काफ्लेले औद्योगिक क्षेत्रले कूल उत्पादनको ५७ प्रतिशत विद्युत खपत गरिरहेको बताए । ५७ प्रतिशत विद्युत खपत गर्ने क्षेत्रलाई विजुली नदिएर ४३ प्रतिशत विद्युत खपत गर्ने जनताको घरमा बत्ति बलेकै कुरालाई लोडसेडिङ अन्त्यको भाष्य दिन नसकिने उनले बताए ।

‘लोडसेडिङ अन्त्य भयो कि भएन भन्ने कुराको बहुत भ्रामक बहसमा हामी अल्झियौं । घरमा विजुली आउनेबित्तिकै लोडसेडिङ अन्त्य हुने होइन । हामीले लोडसेडिङ अन्त्य भयो कि भएन भन्ने कुरा प्रणालीमा हेर्ने हो । आजको दिनमा प्रणालीमा ७ सय मेगावाटको पिक आवरमा डेफिसिट छ । ५७ प्रतिशत विजुली खपत गर्ने क्षेत्रलाई १४ घण्टा १६ घण्टाको लोडसेडिङमा राखेर ४३ प्रतिशतमात्रै विजुली खपत घरमा हुन्छ । त्यो क्षेत्रमा मात्रै विजुली दिएर लोडसेडिङमुक्त भयो भन्ने मिल्छ भनेको ? राज्यले त्यसरी प्रचार गर्न मिल्दैन,’– पूर्व कार्यकारी निर्देशक काफ्लेले भने ।

साथै, उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले राष्ट्रिय सभामा ‘अब घर–घरमा पनि लोडसेडिङ हुने अवस्था छ’ भनि दिएको अभिव्यक्तिमा आपत्ति जनाउनुपर्ने ठाउँ नै नरहेको उनले बताए । मन्त्रीज्यूले राष्ट्रिय सभामा बोलेको कुरामा आपत्ति गर्नुपर्ने कुरा म देख्दिनँ । साथै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूलो अनियमितता गरेको उनको भनाइ छ । घिसिङको बहिरगमनसँगै ती अनियमितता पनि बाहिर आउने उनले बताए । File Photo/RN