पूर्वराजा ज्ञानेन्द्र र सरकारलाई एकसाथ प्रहार गर्ने समाजवादी मोर्चाको तयारी

14
Shares

काठमाडौं, ११ चैत । नेकपा (माओवादी केन्द्र) सहित चार राजनीतिक दल आवद्ध समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्दैै छ । माओवादी, नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीले आ–आफ्नो दलका मातहतको निकायमा जनप्रदर्शनमा सहभागी हुनलाई सर्कुलर जारी गरिसकेको छ । चार दल आवद्ध मोर्चाले काठमाडौंमा एक लाखभन्दा बढी जनता उतार्ने तयारी गरेको छ ।

समाजवादी मोर्चाले गर्न लागेको उक्त प्रदर्शन कसको विरुद्धमा हो भन्ने बहस पनि सुरु भइरहेको छ । माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य सुदन किराती सरकारको जनविरोधी कार्यको भण्डाफोर र संविधानविपरीत अराजक गतिविधिको विरोधमा आफूहरु सडकमा जान लागेको बताउँछन् ।

‘अहिले माओवादीमा दुईवटा जिम्मेवारी आयो । एउटा सरकारले गरेको भ्रष्टाचारी, जनविरोधी जुन कार्य छ, त्यसको पनि हामीले भण्डाफोर गर्नुछ । अर्कोतिर संविधानविपरीत अराजक ढंगले जुन हर्कत भइरहेको छ, त्यसको पनि विरोध गर्नुछ । हाम्रो पहिलो प्रहार चाहीँ व्यवस्था जोगाउनकै लागि हुन्छ,’– उनले भने ।

सत्ताधारी पार्टीहरु कै छत्रछायाँमा रहेर राजतन्त्रवादीहरुले हर्कत गरेको हुनसक्ने उनको आशंका रहेको छ । नेता किरातीले राजावादीहरु कांग्रेस–एमालेकै ओत लागेको हुनसक्ने कुरा विभिन्न घटनाक्रमले पुष्टि गर्दै आइरहेको उनले बताए । कांग्रेसको सात प्रदेशको गोष्ठीबाट आएको प्रतिवेदन हिन्दु गणतन्त्रको पक्षमा आउनु, विभिन्न गतिविधिमा सरकारले कुनै कदम नचाल्नु, बरु उल्टो चिढ्याउने गतिविधि गरिरहनु र प्रधानमन्त्री ओलीले विगतमा ‘गणतन्त्र आउनु र बयल गाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भनेर अभिव्यक्ति दिनुमा कतै न कतै तारतम्य हुनसक्ने नेता किरातीको भनाइ छ ।

‘सत्ताधारी पार्टीहरु नै कतै, सत्ताधारीका छाताभित्र नै उनीहरुले आड लिएर यो गतिविधि त गरेको छैन भन्ने कुरा मलाई आशंका छ । त्यहाँभित्रबाट ओत लागेको छ कि भन्ने मलाई आशंका लाग्छ । किन भन्दा गणतन्त्रवादीहरुको मोर्चा बनाउनु पर्छ भन्दा कांग्रेसमा सहमती भएन किन ? दोस्रो कुरा संविधान संशोधनको नौटङ्की गरेर सातै प्रदेशमा गरेको गोष्ठीको मुख्यप्रतिवेदनमा हिन्दु गणतन्त्र आएको छ । अर्कोतिर प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको अभिभावकले चिढ्याउने प्रतिकृयाबाहेक अरु केही पहल गरेको छैन । हिजो पनि गणतन्त्र भनेको बयलगाढा चढेर अमेरिका पुग्नुजस्तै भनेको प्रतिकृया यहाँ मेल खान्छ । अकोतिर राजा ल्याउँछौं भनेर लागेका केही लोभीपापीहरुले नवीन सम्झौता भन्दैछन् । नवीन सम्झौता, कांग्रेसका प्रतिवेदन, प्रधानमन्त्रीको तहबाट नगरिएको पहल, हिजोको पृष्ठभूमिमा गणतन्त्र बयलगाढा चढ्नुजस्तै हो भन्नुको तात्पर्य चाहीँ हिन्दु गणतन्त्र आज ल्याउने, अनि भोलि त्यसको मालिक खोज्ने बाटोमा त जाँदै छैन भन्ने मलाई चाहीँ इमानदारपूर्वक उठेको आशंका छ,’– उनले भने ।