काठमाडौं, ११ चैत । कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि गरिरहेको ज्यादती तत्काल रोक्न माग गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कवाड व्यवसायी समाजले आफूहरुमाथि महानगरले गरिरहेको ज्यादती रोकेर सहज ढंगले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेको हो । आफूहरुमाथि भइरहेको ज्यादती नरोकिएको खण्डमा थप संघर्षका कदमहरु अगाडि बढाउने उनीहरुको चेतावनी छ ।
महानगरले कवाड व्यवासायीहरुको व्यवसायस्थलमा डोजर आतङ्क मच्चाएको, तोडफोड गरेको, साईकल र समान जफत गरेको उनीहरुको आरोप छ । उनीहरुले आफूहरुको जिउ, धनको रक्षाका लागि सरोकारवालाहरुको पनि ध्यानाकार्षण गराएका छन् ।
कवाड व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा भोलि विहान ११ बजे महानगर घोर्ने बताए । डेढ वर्षदेखि आफूहरुले आन्दोलन गर्दा पनि नशाको धुनमा सुतिरहेका महानगरप्रमुख बालेन्द्र शाहले समस्याको कुनै समाधान नै नखोजेको बताए । नगरप्रहरीको दमनकै कारण मेयर बालेनको दुर्गति सुरु भइसकेको उनले बताए ।
आम जनता पार्टीका प्रवक्तासमेत रहेका नेता चन्द्रभुषण साहले काठमाडौं महानगरले शक्ति केन्द्र र सिण्डिकेटधारी व्यवसायीको आडमा आम सर्वसाधारणले गरिरहेको पेशा व्यवसाय खोस्ने काम गरिरहेको बताए । अब कडाव व्यवसायीले पनि आफ्नो सुरक्षाका लागि दस्ता अगाडि सार्ने उनले चेतावनी दिए ।
संघर्ष समितिका नेता ओमप्रकाश सिंह, जोगेन्द्र साह, मनोहर जैसवाल, सुरेश साह, सरोज श्रेष्ठ, गोपाल जैसवाल, उपेन्द्र साह, रविशंकर जैसवाल, कृष्ण यादव, श्याम यादव, आर्या पाण्डेलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया