काठमाडौं, ११ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पञ्चायतको तुलनामा नेपालको ऋण कम रहेको दाबी गरेका छन् । आज (सोमबार) कृषि विकास बैंक कर्मचारी संघ, नेपालको ऐतिहासिक १०औं केन्द्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल ऋणमा डुब्यो भनेर हल्ला गरिएपनि वास्तविकता त्यस्तो नरहेको बताएका हुन् ।
उनले भने, ‘नेपाल ऋणमा डुब्यो भनेर हल्ला गर्न थालिएको छ । बडा अनौठो लाग्छ । कूल ग्राहस्थ उत्पादनको अनुपातमा ऋण कति भन्ने कुरा गर्नुहुन्छ भने पञ्चायतको तुलनामा अहिले ऋण कम छ । आकार न बढेको हो । हाम्रो कूल ग्राहस्त उत्पादनको तुलनामा ऋण कति भन्नुहुन्छ भने ऋणको अनुपात बढेको होइन ।’
महासचिव पोखरेलले सबैभन्दा विकसित मानिएको देश जापानको ऋण जिडिपीको २ सय प्रतिशत भन्दामाथि, अमेरिकाको एक सय प्रतिशतभन्दा बढी र दक्षिण एसियामा सबैभन्दा कम ऋण बंगलादेश र त्यसपछि नेपाल रहेको पनि बताए । समाजमा केही भएन भन्ने कुरा तथ्यहीन र भ्रमपूर्ण रहेको महासचिव पोखरेलको दाबी छ । पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यपछि नेपालमा धेरै परिवर्तन आइसकेको उनले बताए । पञ्चायत र राजतन्त्रपछि नागरिकहरुको औषत आयु नै वृद्धि भइसकेको उनको दाबी छ ।
‘प्रतिव्यक्ति आय पञ्चायतको समयमा कति थियो ? दुई सय डलर पनि पुगेको थिएन । आज त्यो झण्डै १५ सय डलरको हाराहारीमा पुगेको छ । देश बिग्रियो ? राजा आउ देश बचाउ भनेको छ । २ सय डलर प्रतिव्यक्ति आम्दानी भएको मुलुक चाहीँ राम्रो १५ सय डलर पुगेको चाहीँ बिग्रिएको हुन्छ ? मान्छेको जीवनमा के आयो परिवर्तन भन्ने कुरा त उसको औषत आयू होला नि त ? राजाको सक्रिय शासनको समयमा मान्छे औषत कति बाँच्थे भन्नुस् त ? ५२/५३ वर्ष बाँच्थे । आज नेपालीको औषत आयू ७२ वर्ष भइसक्यो । मान्छेको आयु वृद्धि भइसक्यो । परिवर्तनले केही दिएन ?’ प्रश्न गर्दै उनले भने ।
पञ्चायतको समयमा करिब ८ प्रतिशत जनताको घरमा विजुली बल्ने गरेकोमा आज ९९ प्रतिशत जनताको घरमा विजुली बल्ने गरेको उनले बताए । मिस इन्फरमेशन, डिसइन्फर्मेशनले समाजलाई दिशाहीन बनाउने प्रयास भइरहेको उनले बताए । महासचिव पोखरेलले अहिले दुई पार्टीको सरकार बनिसकेकोपछि स्वभाविक रुपमा आर्थिक संकट सुधारको बाटोमा गइसकेको बताए । File Photo/RN
प्रतिक्रिया