काठमाडौं, १२ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठनहरु एकसाथ सडकमा उत्रिने भएका छन् । माओवादीका जनवर्गीय संगठनहरुले आज (मंगलबार) दिउँसो साढे ३ बजे काठमाडौं नयाँ बानेश्वरमा विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सहायक संगठन योङ्ग कम्युनिष्ट लिगका अध्यक्ष सुवोध सेर्पालीले दिउँसो साढे ३ बजेको लागि विरोध प्रदर्शन राखिएको बताए । ‘उज्यालो नेपालका नायक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति हाम्रो घोर आपत्ति छ । देशको लागि मरिमेटेर काम गर्ने कर्मचारी र देशभक्तहरुको यो घोर अपमान पनि हो । हाम्रो पार्टीको सबै जनवर्गीय संगठनहरु सडकमा उत्रिएर सरकारलाई गल्ती सच्याउन दवाब दिन्छौं,’– सेर्पालीले रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा भने ।
विरोध प्रदर्शनमा वाईसीएल, विद्यार्र्थी संगठन (अखिल क्रान्तिकारी), अखिल नेपाल मजदुर महासंघ, अखिल नेपाल खेलकुद महासंघ, अनेमसंघ (क्रान्तिकारी) लगायतका जनवर्गीय संगठनहरु सहभागी हुने सेर्पालीले बताए । अध्यक्ष सेर्पालीले सरकारले गल्ती नसच्याए आन्दोलन देशभर थप सशक्त बनाइने बताए ।
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्दै उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको सालो हुन् । कुलमानलाई हटाइएको बारे अहिले सर्वत्र आलोचना भइरहेको छ । File Photo/RN
प्रतिक्रिया