काठमाडौं, १२ चैत । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले नेपाल विद्युत प्राधिकरणमा अनियमितताको चाङ सगरमाथाजस्तै रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुलमान घिसिङको नेतृत्वमा प्राधिकरणमा अनियमितता बढेको बताएका हुन् ।
‘त्यहाँ अनियमितताको चाङ सगरमाथाभन्दा अग्लो छ । मैले अरु भन्दिनँ । मैले पाएको जनाकारी प्रमाणित भएन भने म मेरो कुरा फिर्ता लिन सक्छु ,’– पूर्वकार्यकारी निर्देशक काफ्लेले भने ।
साथै, उनले उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्कालाइ कम नआक्नसमेत चेतावनी दिए । खड्का कसैको निगाहले नभएर जनताबाट अनुमोदित भएर मन्त्री बनेको पनि उनले बताए । ‘दीपक खड्का कसैको निगाहमा बनेको मन्त्री हो र ? उहाँ पनि संखुवासभाबाट त्यहाँका जनताले भोट हालेको माननीय हो । नेपालको संविधान बमोजिम भएको मन्त्री हो । उहाँले संविधान र कानुनबमोजिम काम गर्नुपर्छ भनिँरहदा कुलमान घिसिङलाई त्यो छुट हो ? कसैलाई छुट होइन । हामीले कानुनको शासनको सर्वोच्चतालाई मान्ने हो भने सबैले कानुन पालना गर्नुपर्छ,’– उनले भने ।
सरकारले कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरिसकेको छ ।
प्रतिक्रिया