समाजवादी मोर्चाको जनप्रदर्शनः सरकारले कुलमान हटाएको विषय पनि थपियो

0
Shares

काठमाडौं, १२ चैत । नेकपा (माओवादी केन्द्र) सहित चार दल आवद्ध समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्दैछ । राजावादीहरुको गतिविधिको विरोध र सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न सो कार्यक्रम आयोजना गरिएको बताइएको छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार अब विरोध प्रदर्शन कार्यक्रममा कुलमान हटाएको विषय पनि थपिएको छ । सरकारको शैली, प्रवृत्ति र गतिविधिबारे जनतालाई जानकारी गराउनु कार्यक्रममा उद्देश्य रहेको सचिव पौडेलले बताए ।

‘राम्रो काम गरिरहेको बेलामा कुलमानलाई सरकारले हटाउने, अपमान गर्ने, निरन्तर प्रताडित गर्ने काम गरेको छ । त्यो गम्भीर प्रकारको जनविरोधी, जनताको पक्षमा काम गर्ने व्यक्तिहरुलाई नसहने, आफ्नालाई पोस्ने, आफू अनुकूलताका लागि विभिन्न ठाउँमा स्थापित गर्ने, राज्यको दोहन गर्नेतिर सरकार गएको छ । हामीले सरकारको बेथितिको विषयलाई लिएर १५ गते वृहत प्रदर्शन पनि गर्दैछौं । जनतासँग जोडिने अभियानको प्रसंगमा पनि छौं । कुलमानको प्रसंगलाई पनि जोडेर जनतालाई अहिलेको सरकारको शैली, प्रवृत्ति र गतिविधिको बारेमा प्रष्ट पार्न, सरकारले गरिरहेका गलत क्रियाकलापको प्रतिवाद गर्न अपिल गर्दै हामी अगाडि बढ्छौं,’– उनले भने ।

सरकारले कुलमानलाई प्रताडित गराएर र दिनहुँ निहुँ खोजेर हटाएको सचिव पौडेलले बताए । कुलमानप्रति सरकारले अपमान गरेको भन्दै उनले आफू र आफ्नो दलले यस घटनाको घोर निन्दा र आलोचना गर्ने पनि बताए । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरेको थियो ।