कुलमानलाई बर्खास्त गरेर सरकारले जे गर्यो ठीक गर्यो, अब निष्पक्ष आयोग बनाएर उनीमाथि छानविन हुनुपर्छः वरिष्ठ अधिवक्ता कर्ण

0
Shares

काठमाडौं, १२ चैत । वरिष्ठ अधिवक्ता रमण कर्णले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेर ठीक गरेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुलमानलाई हटाएर ठीक गरेको सरकारले अब उनले गरेको बेथिति पनि बाहिर ल्याउनुपर्ने बताए ।

‘जुन तवरले उहाँ हिँडिरहनु भएको थियो र कुराहरु सामुन्ने आएको छ, सरकारको निकायमा सरकारले नियुक्त गरेको व्यक्ति सरकारलाई पनि नमान्ने, संस्थानलाई अराजक बनाउने किसिमले उहाँ हिँडिसक्नु भएको थियो । त्यसलाई रोक्ने काम सरकारबाट भएको छ, त्यो राम्रो छ । उहाँले जे गर्नुभएको थियो, त्यसको परिणाम हो यो,’– उनले भने ।

साथै, घिसिङले गलत विवरण राखेर नागरिकलाई ठगेको, ठेक्कामा हाबी भएको, कानुन नमानेको र कुलमानको इच्छाअनुसार प्राधिकरण चल्न खोजेको उनले बताए । प्राधिकरणमा कुलमानले व्यापक भ्रष्टाचार गरेको उनको आरोप छ । निष्पक्ष आयोग बनाएर, विशेष अधिकार दिएर कुलमानमाथि छानविन गर्नुपर्ने उनले बताए ।