कुलमानको बर्खास्तगीको चौतर्फी विरोध, सत्तारुढ दल कांग्रेसले समेत सरकारलाई छाडेन

0
Shares

काठमाडौं, १२ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर सो पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीका सालो हुन् । घिसिङको कार्यकाल आगामी असारमा सकिँदै थियो । कार्यकाल सकिन ४ महिना बाँकी रहेको र जनतामा चरम निराशा छाएको अवस्थामा कुशल प्रशासकको रुपमा कहलिएका घिसिङलाई हटाउनु सरकारको लागि प्रतिउत्पादक बन्ने खतरा बढिरहेको छ । कुलमानलाई हटाइएको विषयमा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतले कडा टिप्पणी र आलोचना गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु र महामन्त्रीद्वय समेतले सरकारले गलत कार्य गरेको बताइसकेका छन् ।

त्यस्तै, विभिन्न विद्यार्थी संगठन, विभिन्न दलका जनवर्गीय संगठनहरुले पनि आन्दोलन चर्काउने चेतावनी दिइरहेका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज विहाननै उर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको पुत्ला दहन गरिसकेको छ । माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले पनि आज दिउँसो साढे ३ बजे वृहत प्रदर्शन गर्दैछन् ।

कुलमान हटाउने सरकारको निर्णयप्रति प्रचण्डको घोर निन्दा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्यार्थी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति घोर आपत्ति जनाएका छन् । सरकारको उक्त कदम विल्कुल गलत र आपत्तिजनक रहेको प्रचण्डको भनाइ छ । ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ। उनै कुलमान घिसिङलाई बाँकि बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रीपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु,’– उनले भनेका छन् ।

कुलमान हटाउने निर्णय सरकारको कुशासनको निरन्तरताको अर्को कडी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयलाई ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी’ भनेका छन् । उनले कुलमान हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिन नसक्नेसमेत स्पष्ट पारेका छन्। उनले कुलमानलाई हटाउनुपर्ने सरकारी निर्णयको पुष्टि न सरकार न पार्टीले रहेको तर्क गरेका छन्। ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडीः कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले। नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न। यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित बुद्धि ।’

सरकार उल्टो बाटोमा हिँडेको महामन्त्री थापाको टिप्पणी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय गलत रहेको बताएका छन् । अहिले आम नागरिकमा असन्तुष्टि बढ्दो अवस्थामा रहेको र त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाईरहेको बेलामा सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको भन्दै आक्रोश पोखेका छन् । ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो । तर विडम्बना त्यो भएन । निर्णय गलत छ,सरकार उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।’

कुलमानलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पदाधिकारी तहको सहमतिविना नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै आपत्ति जनाएका छन् । महामन्त्री शर्माले सरकारको यस कदमप्रति विमति रहेको बताएका छन् । ‘कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो । कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायाँमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन ियसप्रती खुला र प्रष्ट रूपमा विमति छ,’– उनले भनेका छन् ।

राम्रो गर्नेलाई लखेट्ने सधैं पराजित हुन्छन्

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कामको प्रशंसा गरेका छन् । उनले नेपालमा लोडसेडिङ अन्त्य गर्दै उज्यालो नेपालको आफूहरुको सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गरेका हुन् । उनले राम्रो गर्नेलाई लखेट्ने सोच, प्रवृत्ति र पात्रहरुले बेलाबेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ती सधैं पराजित हुनेपनि टिप्पणी गरेका छन् । ‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भुमिकाको प्रशंसा गर्दै भन्न चाहान्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजीत नै हुन्छन्,’– शर्माले भनेका छन् ।

Skip This