दुर्गा प्रसाईँलाई राप्रपाको साथः राजसंस्थाको पक्षमा हुने सबै शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने निर्णय

0
Shares

काठमाडौं, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा हुने हुने सबै शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने निर्णय गरेको छ । आज (मंगलबार) बसेको राप्रपाको आन्दोलन परिचालन मूल समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

‘बैठकले मुख्यतः तीनवटा कुराहरु गरेको छ । राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा र संघीयता खारेजीको लागि ज–जसले आन्दोलन गरेपनि राप्रपाले, त्यो शान्तिपूर्ण र अहिंसात्मक हुनुपर्यो, त्यसमा समर्थन गर्ने । अरुसँग सहकार्य गर्नुपर्यो भने सहकार्यको ढोका पनि खुला राख्ने, सँगसँगै आफ्ना कार्यक्रमहरु पनि अगाडि बढाएर जाने,’– बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले भने ।

योसँग आगामी चैत १५ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आयोजना गरेको कार्यक्रममा राप्रपाले साथ दिने बाटो खुलेको छ । अध्यक्ष लिङ्देनका अनुसार अब राप्रपाले सबै राजसंस्थाको पक्षमा हुने सबै शान्तिपूर्ण र अहिंसात्मक कार्यक्रममा साथ दिने छ ।

साथै, २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना र वैशाख ७ गतेबाट राजधानी केन्द्रीत कार्यक्रमहरु निरन्तर रुपमा अगाडि बढाएर लाने निर्णय भएको लिङ्देनले बताए । ‘आजको मूल निष्कर्ष के हो भने आजबाट राप्रपा पूर्ण रुपले आन्दोलनमा होमियो,’– उनले भने ।

Skip This