कुलमानलाई हटाएर सरकार बक्यौता नउठाउने बाटोमा हिँडिराखेको छः माओवादी उपमहासचिव बस्नेत

0
Shares

काठमाडौं, १३ चैत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अलोतान्त्रिक र स्वैच्छाचारी निर्णयबाट हटाएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डेडिकेटेड ट्रङ्क लाइनको महशुल नउठाउने उद्देश्य राखेर सरकारले कुलमानलाई हटाएको बताएका हुन् । सरकारको यस प्रकारको कार्यले सुशासन कायम हुन नसक्ने उनले बताए ।

‘कुलमानलाई हटाएर सरकार बक्यौता नउठाउने बाटोमा हिँडिराखेको छ । यसले सुशासन कायम गर्छ कि समाप्त गर्छ ? स्वैच्छाचारी ढंगले पकेटबाट निकाल्दै कर्मचारीहरुलाई नियुक्ति गर्ने मन्त्रीको आदेशमा हुनुपर्छ भन्ने कुरा त्यसपछि सुशासन कायम हुन्छ त ?’ प्रश्न गर्दै उनले भने ।

साथै, माओवादीले व्यक्ति कुलमानलाई नबोकेको पनि उनले बताए । आफूहरु सरकारको बेथिति र कुशासनको विरोधमा रहेको पनि नेता बस्नेतले बताए । कुलमानले सरकारको निर्देशन मानेनन् भन्ने कुरामा कुनै सत्यता नै नरहेको उनले बताए । नेता बस्नेतले सरकारले कुलमानलाई बक्यौता नउठाउ, मन्त्रीले भनेका मान्छेहरु प्राधिकरणका विभिन्न शाखाहरुमा राखिदेउ भनेर निर्देशन दिँदा कुलमानले सो कुरा नमानेको उनले बताए ।

‘सरकारले बक्यौता नउठाउ भन्यो, कुलमान घिसिङले बक्यौता उठाउनुपर्छ भने । सरकारका मन्त्रीहरुले विद्युत प्राधिकरणका कुन शाखामा कसलाई सरुवा गर्ने भन्ने कुरा पकेटबाट नाम लिस्ट निकालेर त्यो आदेश दिन थाले । प्रबन्ध निर्देशकले सिस्टमको वकालत गरे । यसलाई आदेश पालना नगरेको भन्न मिल्छ ?’ प्रश्न गर्दै उनले भने ।