सरकारले कुलमानको मानमर्दन र प्राधिकरणको तोजोबध गर्न दुई तिहाइको सामर्थ्य प्रदर्शन गर्योः माओवादी उपमहासचिव बस्नेत

0
Shares

काठमाडौं, १३ चैत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको मानमर्दन गर्न र प्राधिकरणको तेजोबध गर्न दुई तिहाइको सामर्थ्य प्रदर्शन गरेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राज्यका महत्वपूर्ण अङ्ग र निकायहरुलाई आफ्नो नियन्त्रणमा लिएर सरकार सर्वसत्तावादको अभ्यास गर्न उद्दत भइराखेको बताएका हुन् ।

वर्तमान सरकार स्वार्थ समूहरुको पृष्ठपोषण र वैशाखीमा निर्मित भएको हुनाले स्वार्थ समूह, विचौलियाहरुको हित गर्नु यसको नियत र नियती बनिरहेको पनि उनले बताए । ‘सरकारले दुइ तिहाइको सामर्थ्य एक राष्ट्रसेवकको मान मर्दन गर्न, अपमानित गर्न र एउटा निश्चित सार्वजनिक संस्थालाई तेजोवध गर्न आफ्नो सामर्थ्य प्रदर्शन गरिरहेको छ,’– उनले भने ।

नेता बस्नेतले सरकारले कुलमानलाई स्पष्टीकरणको नौटङ्की गरेर आफ्नो कतुर्त छोप्न खोजेको बताए । आगामी चार महिनापछि स्वतः अवकाश हुने कुलमानप्रति सरकारले किन मानमर्दन गरेर यो हदसम्म गिर्यो भनेर आम जनताले सोचिरहेको उनले बताए । नेता बस्नेतले नेतृत्वमा रहेकाहरु सरकार आगामी चार महिना पनि टिक्दैन भन्ने मनोदशाबाट ग्रसित भइरहेको बताए ।