काठमाडौं, १३ चैत । अर्थविद् डा.चन्द्रमणि अधिकारीले कुनै राजनीतिक दल र प्रभावशाली व्यक्तिको फेर समातेर बन्ने नेपाल राष्ट्र बैंकको गभर्नरले राम्रो काम गर्न नसक्ने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अबको गभर्नर मौद्रिक र बैंकिङ क्षेत्रको ज्ञान भएको र आर्थिक क्षेत्रको ज्ञान भएको व्यक्ति चाहिने बताएका हुन् ।
‘कुनै राजनीतिक दल वा प्रभावशाली व्यक्तिको फेर समातेर आएको व्यक्तिले मौद्रिक नीति राम्ररी चल्दैन । भोलि त्यहाँ वायसनेस हुनसक्छ । वित्त नीति र मौद्रिक नीति, आर्थिक नीति र मौद्रिक नीतिको बीचमा समन्वय नहुन सक्छ । पहिला पनि यो कुराहरु बेला–बेलामा उठिरहेको हो र सरकार बन्दा पनि आर्थिक नीति र वित्तीय नीतिको समन्वय कायम गरिने छ भनेर पहिलो बुँदामै लेखिएको छ,’– उनले भने ।
उनले अहिलेसम्म कुनै पनि गभर्नरले उत्कृष्ट काम गर्न नसकेको बताए । ‘यो भन्दा अगाडिका सबै गभर्नरहरुको कामको कुरा गर्ने हो भने मिश्रित खालको छ । केहीकेही कुराहरु उहाँहरुले राम्रो पनि गर्नुभएको छ । कतिपय कुराहरु गर्नुपर्ने बेलामा नगर्ने, नगर्नुपर्ने बेलामा गर्ने । यस्तो काम भएको छ,’– उनले भने ।
अहिले गभर्नर बन्नका लागि केही मान्छेहरु शक्तिकेन्द्रमा धाइरहेको बताउँदै उनले यस्तो कार्य असाध्यै गलत रहेको बताए । कुनै दल र व्यक्तिले लाए, अह्राएको काम गर्न कार्यकर्ता गभर्नर बन्न नहुने उनले बताए । अर्थविद् अधिकारीले नेपाल राष्ट्र बैंक विगतदेखि नै सुपरीवेक्षण र अनुगमनमा चुकिरहेको बताए । File Photo/RN
प्रतिक्रिया