नवराज सुवेदीको आन्दोलनलाई लिएर राप्रपामा खट्पट सुरु, धवल शमशेरले दुईवटा डुङ्गामा खुट्टा हालेको उपाध्यक्ष प्रधानको आरोप

0
Shares

काठमाडौं, १३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री ध्रुबबहादुर प्रधानले पार्टीले नवराज सुवेदी नेतृत्वको संयुक्त ‘जनआन्दोलन’ मा सहभागी हुने निर्णय गरिनसक्केको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुवेदीले घोषणा गरेको जनआन्दोलन परिचान समितिमा बसेर बरु पार्टी महामन्त्री धवल शमशेर जबराले दुईवटा डुङ्गामा खुट्टा हालेको बताए । उनले सो आन्दोलन परिचालन समितिमा धवल शमशेर आफैं इच्छुक भएर गएको पनि बताए । नेता प्रधानले महामन्त्री जबरा बेलगाम हिड्न खोजेको बताए ।

‘पार्टीले दुईवटा डुङ्गामा खुट्टा राखेको छैन । व्यक्तिले राखेको हो । पार्टीले त एउटै डुङ्गामा दुईवटै खुट्टा राखेको छ । उहाँ (धवल शमशेर जबरा) ले त्यस आन्दोलनको परिचालन गरिराख्नु भएको छ । तर, उहाँले पार्टी भएर गर्नु भएको होइन । उहाँ स्वतन्त्र व्यक्ति भएर त्यसको प्रतिनिधित्व गरिराख्नु भएको छ । पार्टीले नजाने निर्णय गरेको छैन । जाने कुराको निर्णय पनि गरेको छैन । उहाँ इच्छुक भएर जानुभएको छ । यसबारे हामीले खास्सै केही कुरा भनेका छैनौं,’– उनले भने ।

साथै, आगमी चैत १५ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजतन्त्रको पक्षमा गरेको आन्दोलनमा आफूहरु पार्टीको झण्डामा सहभागी नहुने पनि उनले बताए । आफूहरुले सो आन्दोलनमा जान कसैलाई पनि नरोकेको र कोही जान चाहँदा राष्ट्रिय झण्डासहित जानसक्ने उनले बताए ।