कुलमानमय संसद्ः प्रतिपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित्

0
Shares

काठमाडौं, १३ चैत । प्रतिपक्षी दलहरुको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतले संसद् बैठक अवरुद्ध गरेका हुन् ।

विहान साढे ११ बजेतिर सुरु भएको संसद्मा प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेकपा (माअ‍ोवादी केन्द्र) का उपमहासचिव समेत रहेका शक्तिबहादुर बस्नेतलाई आफ्नो विषय राख्न ५ मिनेटको समय दिएका थिए । सांसद बस्नेतले सरकारले कुलमानलाई बर्खास्त गरेको विषयमा आपत्ति जनाउँदै संसद् चल्न नसक्ने बताए । पटक–पटक अनुरोध गर्दा पनि प्रतिपक्षी दलहरु कम्भिन्स नभएपछि सभामुख घिमिरेले ३० मिनेटको लागि संसद् बैठक स्थगित गरिएको जानकारी गराए ।

आधा घण्टाको लागि भनेर स्थगित गरिएको बैठक करिब साढे २ घण्टापछि सुरु भएको थियो । उक्त बैठकमा पनि प्रतिपक्षी दलहरुले निरन्तर विरोध जनाएको पछि भोलि (चैत १४ गते) बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।