कमजोर लेखकले भन्दा अध्ययनशील पाठकले नेपाली साहित्यको हित गर्छन् : कृष्ण बजगाईं

0
Shares

साहित्य–वार्ता

माता/पिताः तारादेवी/रामकुमार बजगाईं
जन्मस्थानः धरान
अध्ययनः स्नातकोत्तर
प्रथम प्रकाशित रचना- कविता, २०४१
प्रकाशित कृतिः गाउँले रोबोट (बाल–कथासङ्ग्रह २०८१), गफ चुट्ने मेसिन (बाल–कथासङ्ग्रह २०८१), छुकछुके
रेल (बाल–कवितासङ्ग्रह २०८१), चिल्लीबिल्ली (बाल–कवितासङ्ग्रह २०८१), युङफ्राउ (नियात्रासङ्ग्रह २०८०),
नग्नस्वप्न (लघुकथासङ्ग्रह २०८०), बतासे डाँडामा पङ्खा (बाल–कथासङ्ग्रह २०८०), कागजको मन्त्री
(लघुकथासङ्ग्रह २०८०), उमिहोतारु (नियात्रासङ्ग्रह २०७९), आगो ओकल्ने पहाड (बाल–कथासङ्ग्रह २०७९),
संवैधानिक पत्नी (लघुकथासङ्ग्रह २०७७, मौन प्रणय (हाइकुसङ्ग्रह २०७७), दाइबुचु (नियात्रासङ्ग्रह २०७६),
कुमारी रात (हाइकुसङ्ग्रह २०७५), भाया साक्रा (नियात्रासङ्ग्रह २०७४), युरेसियाको स्पर्श (नियात्रासङ्ग्रह
२०७३), कवच (लघुकथासङ्ग्रह २०७२), कमरेड भाउजू (कथासङ्ग्रह २०७२), रोडम्याप (लघुकथासङ्ग्रह २०६६),
हिउँको तन्ना (हाइकुसङ्ग्रह २०६५), यन्त्रवत् (लघुकथासङ्ग्रह २०६४), नक्कल गर्ने बाँदरसँग अक्कल (सचित्र
बाल–कथा २०८१), घुमन्ते स्कुल (सचित्र बाल–कथा २०८१)
प्रकाशनोन्मुख कृति: नियात्रा, बाल–कथा

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
मेरो साहित्य लेखन वि.सं. २०३६ मा बालकविका रूपमा पहिलोपटक विद्यालयको कार्यक्रममा कविता
लेखेर वाचन गरेपछि सुरू भएको थियो । पहिलोपटक पत्रिकामा वि.सं. २०४१ मा कविता प्रकाशन भएको
थियो । त्यसबेलादेखि आजसम्म अविच्छिन्न साहित्य लेखन जारी छ ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?
मैले साहित्य लेख्ने प्रेरणा कुनै व्यक्तिविशेषबाट पाएको छैन । सानैदेखि साहित्यमा रुचि भएका कारण
जानी/नजानी कविता लेखनमा कलम चलाउँदै जान थालेँ । साहित्यमा रुचि राख्ने साथीभाइसँग विशेष
सम्पर्कमा रहेँ । विभिन्न साहित्यिक गतिविधिमा सहभागिता जनाउन थालेपछि लेखनका लागि थप ऊर्जा
मिलेको थियो ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
विदेशको व्यस्तताबाट बचाएको समयलाई लेखनमा समर्पण गरेको छु । केही वर्षदेखि लेखनमा अलिक
बढी सक्रिय भएको छु । नियमितजसो लेखिरहन्छु ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
पछिल्लो चरणमा मेरो लेखनप्रति म सन्तुष्ट छु । मेरा पुस्तकलाई पाठक र समालोचकहरूले मन
पराउनुभएको छ । उहाँहरूबाट पाएको प्रतिक्रियाबाट एकदम खुसी छु ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
नियात्रा र बालसाहित्यका कृतिको तयारीमा छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
भाषा, साहित्य र स्रष्टा राष्ट्रका गहना हुन् । यिनैले राष्ट्रको पहिचान बोकेका हुन्छन् । तिनीहरूले समाज
र राष्ट्रलाई मार्गनिर्देशन गरिरहेका हुन्छन् । तिनीहरूको संरक्षण, संवद्र्धन र सम्मान गर्नु राष्ट्रको
जिम्मेवारी हो ।

तपाईंको साहित्यिक आदर्श के हो ?
समाजलाई हित गर्ने साहित्य नै मेरो आदर्श हो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?

लेखक तथा साहित्यकारहरू सर्वसाधारणभन्दा अलग क्षमता, ज्ञान र दृष्टिकोण भएका हुन्छन् । समाजले
सही दिशा लिन सकोस् र सामाजिक सद्भाव कायम रहोस् भनेर साहित्यकारले लेख्नुपर्छ । तर, केही लेखक
आ-आफ्नो जात, राजनीतिक विचार र धर्मका कुरालाई साहित्यमार्फत व्यक्त गरिरहेका छन् । सार्वकालिक
लेखन हुनुपर्नेमा आजकल त्यस्तो पाइँदैन । विश्वका मानवजातिका लागि नलेखेर सानो समूहबारे लेख्ने
गर्नाले उनीहरूले लेखकीय दायित्व निर्वाह गरेका छैनन् ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
पछिल्लो समयमा आफ्ना कृतिले पाएको सफलताबाट म एकदम सन्तुष्ट छु । पाठकहरूले मन
पराउनुभएको छ । प्रकाशकहरूले मेरो लेखनलाई पत्याउनुभएको छ । समालोचकहरूले प्रशंसा गर्नुभएको छ
। विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा मेरा दुई दर्जनभन्दा बढी रचना समावेश भएर पढाई
भइरहेका छन् । योभन्दा बढी सफलता र सन्तुष्टि अरू के होला र ?

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
साहित्य लेखन हिजो अर्कै अवस्थामा थियो । उतिबेलाका समस्या अर्कै हुन्थे । विषयवस्तु फरक हुन्थे ।
लेखक र पाठकको चेतनाको स्तर फरक थियो । अहिलेका विषयवस्तु र समस्या फरक छन् । लेखकभन्दा
पनि सचेत पाठक धेरै छन् । हिजोका दिनमा साहित्यका पाठक कम थिए, अहिले पाठक धेरै छन् । हिजो
साहित्य पुस्तक र पत्रिकामा मात्र पढ्न पाइन्थ्यो । अहिले विभिन्न खालका साहित्य कम्प्युटर, मोबाइल
फोन, किन्डल र पुस्तकमा पढ्न मिल्छ । इन्टरनेटबाट संसारभर पढ्न सकिन्छ । त्यतिमात्र होइन–
साहित्यका पुस्तक सुन्न पनि मिल्छ । यसले गर्दा लेखकका कृति छोटो समयमा संसारभर पुगेका छन् ।
लेखकहरू पाठकमाझ व्यापक पुगेका छन् ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्यले जहिले पनि समाजलाई दिशानिर्देश गर्नुपर्दछ । सस्तो मनोरञ्जन दिनेखालका र नारावादी
साहित्यको कुनै अर्थ हुन्न । उच्च विचार बोकेको समाज उपयोगी साहित्य आउनुपर्दछ । अहिलकोे
बदलिँदो परिवेशअनुसार जनसाधारणका साहित्य लेखिनुपर्दछ ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?

मेरो लेखनमा उत्प्रेरणा जगाउने मूल तत्त्व भनेको नै पाठकहरू हुन् । मेरा रचनालाई पाठकले पढेर
प्रतिक्रिया दिने गर्नु हुन्छ । मेरा रचना र कृतिबारे विभिन्न माध्यमबाट चर्चा हुने गर्दछन् । यिनै कुराले
मलाई लेखनमा थप हौसला वा प्रेरणा प्रदान गर्दछन् ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?
विदेश बसाईका क्रममा कामको व्यस्तता, थकाई, पारिवारिक जिम्मेवारी, सामाजिक सम्पर्क, वेब पत्रिका र
अनुसन्धानमूलक जर्नल प्रकाशन र साहित्यिक संगठनजस्ता कामले गर्दा मलाई समयाभाव भइरहन्छ ।
त्यही भागदौडको जिन्दगीबाट अलिकति समय बचाउँछु । अलिकति परिवार र आफ्नो आरामको समय
चोर्छु । र, हतार-हतारमा साहित्य सिर्जना गर्दछु ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
लेखनका लागि मनमा उठेका विचारको पहिलो ड्राफ्ट ट्रेनको यात्रा, अफिसको लन्च ब्रेक, बिहानीपख,
मध्यरात जुन बेला फुर्सद र मुड हुन्छ– त्यही बेला हुने गर्दछ । समय पर्याप्त भएको मौका छोपेर
त्यसलाई पुनर्लेखन गर्न थाल्छु । दुईतीनपटक एउटा रचनालाई चलाएपछि छपाउन उपयुक्त सिर्जना तयार
हुन्छ । वास्तवमा भन्ने हो भने मेरा सबै रचना हतार र धपेडीमा लेखेको छु ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
नियात्राका विषयमा भन्नुपर्दा कहिले मन परेको स्थान वा विषयबारे लेख्नका लागि यात्रा गर्छु । म घुमन्ते
स्वभावको भएकाले यात्राका क्रममा पुगेको स्थान र विषयले मनमा स्पर्श ग¥यो भने पनि नियात्रा लेख्छु ।
सबै यात्राको नियात्रा लेख्दिनँ । कथा, लघुकथा र बाल–कथाहरूचाहिँ सकभर अरूले नलेखेको पाटोबाट लेख्ने
प्रयास गर्छु ।

सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ?
सफल स्रष्टा अध्ययनशील हुनुपर्दछ । विभिन्न विधाका धेरैभन्दा धेरै पुस्तक अध्ययन गर्नुपर्छ । नजिक
होस् या टाढा– यात्रा गरेर समाज अध्ययन गर्नुपर्छ । सर्वसाधारणसँग संवाद गरिरहनुपर्दछ । यस्तै गुणले
लेखनमा निख्खरता ल्याउँछ ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?

नेपाली साहित्यमा उपन्यास, नियात्रा र कथाका पाठक बढी छन् जस्तो लाग्छ ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
सृजनामा सजीवता र काल्पनिकता दुवै हुनुपर्दछ । कुन विधाको सिर्जना हो– त्यसको आधारमा बढी र कम
भन्न सकिन्छ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
जब कुनै विषय वा घटनाले स्पर्श गर्दछ– तब मन उद्वेलित बनाउँछ । समाजवरपरका विभिन्न घटना,
समाचार, दृश्य आदिले स्पर्श गरेपछि भित्रभित्रै सिर्जनाको विकास हुन थाल्छ । अनि त्यसले निकास
खोज्छ । त्यसपछि लेख्नुपर्ने बाध्यता महशुस हुन्छ । लेखिसकेपछि बल्ल शान्त हुन्छ मन ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
साहित्यलाई रहर र लहडका रूपमा लिनुहुँदैन । साहित्यमा निरन्तरता दिन र लेखकका रूपमा स्थापित हुन
प्रशस्त अध्ययन अनि साधना चाहिन्छ । अध्ययन र साधनाका लागि आफूसँग समय र धैर्यता छ
भनेमात्र साहित्यमा लाग्नुहोला । कमजोर लेखक हुनुभन्दा उच्चकोटीको साहित्यिक पाठक हुनु बेस हो ।
कमजोर लेखकले भन्दा अध्ययनशील पाठकले नेपाली साहित्यको हित गर्छन् ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
मेरो विचारमा साहित्यकार राजनीतिबाट निरपेक्ष हुन सक्दैन । समाजको अंग भएकोले कुनै न कुनै
राजनीतिक दल वा विचारधाराको समर्थक वा अगुवा हुन सक्छन् । तर तिनका साहित्यिक रचना भने
राजनीतिबाट निरपेक्ष हुनुपर्नेमा त्यस्तो भएको पाइँदैन । केही स्रष्टा दलको झण्डामा ओत लागेर त्यहींबाट
छोटो समयमा विभिन्न फाइदा लिनका लागि सक्रिय हुन्छन् । दलहरू पनि दलका लेखनदासको रूपमा
स्रष्टालाई उपयोग गर्दछन् । यसमा दुवै पक्षको स्वार्थ लुकेको हुन्छ ।