काठमाडौं, १३ चैत । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को पछि नलाग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिएका छन् । आज (बुधबार) राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएर, मान्छे मारेर, मराएर, विध्वङ्स गराएर थाकेकाहरुको पछि नलाग्न आग्रह गरेका हुन् ।
‘अहिले केही नयाँ निस्किन खोजेका छन्, सिक्दैछन् । गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरुलाई पनि मेरो सुझाव छ । यी हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर अनेक मच्चाएर, उपद्रो मच्चाएर, मान्छे मारेर, मराएर, विध्वङ्स गराएर थाकेका थकित तत्वहरुको पसिना पुछ्न किन जानुपर्यो ? आफूलाई नयाँ शक्ति भन्छन्,’– प्रधानमन्त्री ओलीले भने ।
साथै, उनले प्रतिपक्षलाई उत्ताउलो नहुन सुझाव दिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विषयलाई लिएर माओवादी केन्द्रसहित रास्वपाले पनि संसद्मा विरोध जनाएको थियो । प्रतिपक्षी दलको विरोधका कारण प्रतिनिधि सभाको आजको कार्यसूची नै प्रभावित भएको थियो । सोही प्रसंगलक्षि गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया