निर्वाचन लडेर सय मत कटाउन नसक्नेहरु राजावादी बनेर सडकमा उत्रिएः विद्वान गुरुङ

0
Shares

काठमाडौं, १३ चैत । नेपाल तरुण दल जिल्ला कार्यसमिती बाराले आयोजना गरेको नेता/कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जिल्लास्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा राखिएको थियो । नेपाल तरुण दल जिल्ला अध्यक्ष दिपेन्द्र पटेलको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेसकी सह–महामन्त्री एवं तरुण दल महाधिवेशन निर्देशन समितिको संयोजक डिना उपाध्यायको प्रमुख आतिथ्यमा रहेको थियो ।

कार्यक्रमलाई विशेष अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल केन्द्रीय समितिले दलको पाँचौ महाधिवेशन गर्ने निर्णय गरिसकेको हुनाले जिल्लामा पुर्णकालीन र प्रारम्भिक सदस्यहरु वितरण गरेर सङ्गसङ्गै वडा र गाउँ नगरको अधिवेशन गरि केन्द्रमा पठाउन निर्देशन दिए ।

फरक प्रसङ्गमा अध्यक्ष गुरुङले गएको चुनावमा पूर्व पञ्चेहरु मेयर, सांसद र मन्त्री हुने आकांक्षा राखी निर्वाचन लडेर सय मत कटाउन नसकेको व्यक्ती राजावादीको पक्षमा सडकमा उत्रिएको टिप्पणी गरे । कतै राजा आए भने भोलि मेयर ,सांसद, मन्त्री भैहालिन्छ कि भनेर उनीहरुले दिवासपना देखिरहेको अध्यक्ष गुरुङले बताए ।

अध्यक्ष गुरुङले छिमेकी राष्ट्रको मुख्यमन्त्रीको फोटो राखेर राष्ट्रवाद नसिकाउन र छिमेकीले व्यवस्था बदल्दिन्छ भनेर भ्रम नछर्न आग्रह गरे । उनले काङ्ग्रेस जनताको पक्षमा राष्ट्रको पक्षमा भएको बताउदै देशको व्यवस्था, सिमाना, धर्म र संस्कृति यहीँका नागरिकले रक्षा गर्ने बताए ।

अहिले सामाजिक सञ्जालको चरम दुरुपयोग भइरहेको पनि अध्यक्ष गुरुङले बताए । सामाजिक सञ्जाललाई युवा विध्यार्थीहरुले सही तरिकाले उपयोग गर्ने हो भने युरोप, अमेरिका गएर कमाउने रकम स्वदेशमै बसेर आर्जन गर्न सकिने उनको भनाइ छ । अहिले घरको झगडादेखि लिएर व्ययस्था र नेताविरुद्ध सामाजिक सञ्जालमा लेख्ने प्रवृत्तिले आम नागरिकमा नकारात्मक असर परेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

अध्यक्ष गुरुङले आम नागरिक असन्तुष्ट भइरहेको बताउँदै कांग्रेसले उक्त असन्तुष्टि चिर्न सक्नुपर्ने बताए । उनले जनताको घरघरमा गएर असन्तुष्टि बुझ्ने र त्यस प्रकारका असन्तुष्टि सम्बोधन गरी प्रत्येक जनतालाई कांग्रेसको गौरवशाली इतिहास बढाउने प्रयास गर्नुपर्ने बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा काङ्ग्रेसको केन्द्रीय सदस्य सरिता प्रसाईँ, जिल्ला सभापति राजेश राय यादव, क्षेत्र न.२ का सभापति राम प्रवेश यादव, प्रदेश सभा (ख) का सभापति एवं पूर्व तरुण दल जिल्ला अध्यक्ष लोकेश सिंह, तरुण दल केन्द्रीय सदस्य सरिन घिमिरेलगायतको उपस्थिति रहेको थियो ।