माओवादी सरकार ढाल्ने खेलमा छैन, तर सत्तारूढ दलकै कारणले ढल्छः शक्ति बस्नेत

0
Shares

काठमाडौं, १३ चैत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले आफूहरु वर्तमान सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी सरकार ढाल्ने खेलमा नभएपनि सत्तारूढ दलकै कारण यो सरकार ढल्ने बताए । ‘हामीले त यो सरकार ढाल्ने खेलमा छैनौं भनिसकेका छौं त । सरकार ढल्छ त आफ्नै कारणले ढल्छ । यस्ता–यस्ता उपद्रो गर्न थालेपछि त सरकार आफैं ढल्छ नि,’– उनले भने ।

साथै, उनले पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्था थप सुदृढ बन्दै गएको पनि उनले बताए । प्रचण्डप्रति समाजमा पनि विश्वास र भरोसा बढ्दै गएको नेता बस्नेतको दाबी छ । माओवादीमा पार्टी हाँक्न सक्ने एक सय एक नेताहरु रहेको दाबी गर्दै नेता बस्नेतले अहिलेको अवस्थामा भने सबै नेताहरुको पनि नेता भने प्रचण्ड नै रहेको बताए ।

‘हिजोभन्दा प्रचण्डको अवस्था पार्टीभित्र थप सुदृढ भएको छ । बाहिर समाजमा पनि प्रचण्डप्रतिको विश्वास र भरोसा बढेको छ । त्यो भनेको माओवादीको पनि विश्वास र भरोसा बढेको छ । नेतृत्व गर्न सक्ने धेरै छन्, त्यो भन्दा सबैभन्दा राम्रो नेतृत्व गर्न सक्ने नेतालाई नै नेतृत्व दिने हो । माओवादीभित्र एक सय एक नेताहरु हुनुहुन्छ । त्यो मध्ये जनार्दनजी पनि एक हो । त्योमध्ये नेताहरुको पनि नेता प्रचण्ड नै हो । पार्टी चलाउन सक्ने त धेरै नेताको टिम छ । तर, अहिले पनि पार्टीले प्रचण्डको नेतृत्वको खोजिरहेको छ,’– उनले भने ।