राप्रपाको दाबीः प्रचण्डले टीआरसीसँग कुलमान साटेकै हो

0
Shares

काठमाडौं, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ रहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुलमान हटाउनमा माओवादी र एमालेबीच सेटिङ रहेको दाबी गरेका हुन् । एमालेले विगतमा कहिले पनि टीआरसी पारित गर्ने विषयमा सकारात्मक नरहेको अवस्थामा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा प्रचण्डले टीआरसँग कुलमान साटेको बताएका हुन् ।

‘कुलमान घिसिङलाई प्रचण्डले टीआरसीसँग साटेकै हो । कुलमान घिसिङलाई यो सरकार बनेदेखि ४÷५ महिनाअघि देखि हटाउने खोजिराखिएको थियो । तर, हटाउन सकेको थिएन, किनकी प्रचण्डको साथ थिएन । दोस्रो आधार २०६४ सालको स्थापित पहिलो संविधान सभाबाट प्रचण्डले निरन्तर टीआरसी विधेयक ल्याएका थिए । युद्धको समयका कुनै सर्वसाधारणलाई मारियो भने अहिलेको प्रचलित कानुनले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउँछ । त्यहीअन्तर्गत अहिले अग्नि सापकोटालाई मुद्दा छ अदालतमा । टीआरसीमा कांग्रेस, माओवादी दुवैको समर्थन छ । तर, एमालेले कहिले पनि स्वीकार गरेन । एमाले सरकार पक्ष पनि थिएन । विद्रोही पनि होइन । एमाले टीआरसी पास गर्नुपर्छ भन्ने कुरा स्विकार नगरेकै कारणले गर्दा यिनीहरुको नेकपा फुट्यो । त्यसपछि पटक–पटक एमालेले यसलाई रोकेर राखेको थियो । तर, अस्ति कुलमान साट्ने कुरामा एमाले मान्यो । एमालेले फ्री मा त निर्णय गरेन,’– उनले भने ।

टीआरसी पास गर्ने कि प्रधानमन्त्री खाने भनेर कसैले अप्सन दिएको खण्डमा प्रचण्डले ‘टीआरसी पास गर्ने, बरु प्रधानमन्त्री नखाने’ भन्ने उनको दाबी छ । नेता शाहीले प्रचण्डलाई जतिबेला पनि न्यायलयमा उभ्याउन सक्ने डर रहेको पनि बताए । कुलमान प्राधिकरणको एमडी बनेकै कारण आज देशको दूरदराजमा विजुली बलेको उनको दाबी छ । राप्रपाले कुनै पनि मुद्दामा प्रचण्डसँग सहकार्य नगर्ने उनले बताए । तर, कुलमान घिसिङको पक्षमा भने राप्रपा आफ्नै तरिकाले लागिरहने बताए ।

‘कुलमान घिसिङको पक्षमा राप्रपा आफैं लाग्छ । तर प्रचण्डलाई साथ दिँदैनौं । हिजो उनीहरुले बोलाएको प्रतिपक्षी दलको बैठकमा पनि छैनौं । प्रचण्डलाई नेता मान्दैनौं । संसद्मा प्रतिपक्षी भएपछि सहकार्य गरेर जनताको मुद्दा स्थापित गरौं भन्ने हुन्छ । अब त्यो पनि हामी प्रचण्डबाट गर्दैनौं । हाम्रो एजेण्डामा यिनीहरु आउँछन् भने हामी सहकार्य गर्छौं । यिनका लुटतन्त्र बचाउने एजेण्डामा हामी जाँदैनौं,’– उनले भने ।