ज्ञानबहादुर शाहीको गम्भीर आरोपः प्रचण्ड र केही मान्छेको डिजाइनमा वीरेन्द्रको वंशनाश गरियो

0
Shares

काठमाडौं, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केही मान्छेहरुको डिजाइनमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश गरिएको गम्भीर आरोप लगाएका छन् । (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो गम्भीर आरोप लगाएका हुन् । दरबार हत्याकाण्ड छानविनका लागि आफूहरु तयार रहेको बताउँदै उनले उक्त प्रकरणमा सबैभन्दा पहिला प्रचण्डमाथि छानविन हुनुपर्ने बताए ।

‘झुटको खेती नगर्नुस् प्रचण्ड । यो राजसंस्था फाल्नका लागि प्रचण्ड र केही मान्छे मिलेर बनाएको डिजाइन हो भनेर म ठोकुवाको साथ भन्न सक्छु । तपाईँ आफैं भन्नु राजाको विरुद्धमा हतियार कसले उठाएको थियो ? माओवादीले हतियार कहिलेबाट उठायो ? ७ वर्ष त प्रचण्ड राजा विरेन्द्रको विरुद्धमा लडेको हो कि होइन ? जो राजाले यिनलाई मारेन, त्यो राजालाई मार्नका लागि यिनले भारतमा गएर षड्यन्त्र गरे । यी भारतीय दलाल हुन् । मैले भनेको होइन, भारतको राजदूत रञ्जित रे ले भनेको । छानविन समिति गरौं । त्यसमा सबैभन्दा पहिला तपाइँलाई तान्ने हो,’– उनले भने ।