पीडितहरुलाई न्यायको अनुभूति नहुँदासम्म शान्ति प्रक्रिया यथार्थमा सफल भएको मानिँदैनः प्रचण्ड

0
Shares

काठमाडौं, १४ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पीडितहरुलाई न्यायको अनुभूति नहुँदासम्म शान्ति प्रक्रिया यथार्थमा सफल भएको नमानिने बताएका छन् । आज (बिहीबार) संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई पीडितमैत्री ढंगबाट नटुङ्ग्याएको खण्डमा कहीँ न कहीँ गएर बल्झिन सक्ने बताएका हुन् । प्रचण्डले केही मानिसहरुले शान्ति प्रक्रियालाई ‘फर गिभ एण्ड फर्गेट’ को बाटोमा जानुपर्ने बताए पनि त्यो बाटो आफूले नै नमानेको बताए । उनले त्यो बाटो सजिलो देखिए पनि पीडितहरुले न्याय पाएको अनुभूति गर्ने कम सम्भावना हुने भएकाले आफूले त्यसलाई अस्वीकार गरेर संक्रमणकालीन न्यायको बाटोमै जानुपर्छ भन्नेको पनि उनले स्मरण गराए ।

प्रचण्डले नेपाली शान्ति प्रक्रियाको आफ्नै प्रक्रियाको मौलितकता र विशेषतामा रहेको बताए । गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा जोसुकैबाट भएको भएपनि मुद्दामा लानुपर्छ भन्नेमा आफूहरु सधैं प्रष्ट रहेको उनले बताए । ‘नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अगाडि बढेको छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित कुरा मुख्यतः पीडितमैत्री हुनुपर्छ । पीडितहरुलाई सम्बोधन गर्ने कुरा उच्च प्राथामिकतामा रख्नुपर्छ भन्ने कुरामा पनि राजनीतिक नेतृत्व तहमा कहिले पनि विवाद भएन । हामी राजनीतिक नेतृत्वहरु पीडतहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएरमात्रै शान्ति प्रक्रियालाई दीगो बनाउन सकिन्छ भन्ने कुरामा हामी कन्फ्युज कहिले पनि भएनौं । हामीले अगाडि बढाइरहेको यो प्रक्रिया धेरै हदसम्म आफ्नो मौलितकताअनुसार सफलताको साथ अगाडि बढिरहेको हामीले महशुस गरेका छौं,’– उनले भने ।

साथै, अहिले पनि राजनीतिक दलहरुमा तमाम विवाद र विमती रहेपनि शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ भन्ने कुरामा कहिले पनि विवाद नरहेको उनले बताए । प्रचण्डले चर्को राजनीतिक विमतिको बीचमा पनि सर्वसम्मत रुपले टीआरसी विधेयक टुङ्ग्याउन सफल भएको बताए । उनले टीआरसी राष्ट्रिय मुद्दा रहेकाले यसमा कसैले पनि राजनीति गर्न नहुने बताए ।