काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर गलत गरेको बताएका छन् । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफू र अर्का महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीलाई सुझाव दिँदा कुलमानलाई नहटाउनको लागि भनेको उनले बताए ।
साथै, कांग्रेस पदाधिकारी बैठकमा समेत कुलमानलाई हटाउन हुँदैन भनेर नै छलफल भएको र हटाउने कुरामा पदाधिकारी बैठकको सहमति नरहेको उनले बताए । ‘अहिले जे निर्णय भएको छ, यो निर्णय हुँदै गर्दाखेरी हामीले नगर्नुस् गर्न हुन्न भन्ने हो । त्यहाँसम्मको सन्दर्भमा हामीले गम्भीरतापूर्वक यो विषय भनेका थियौं,’– उनले भने ।
कुलान बर्खास्तगी प्रकरण अब अदालतको विषय भइसकेको बताउँदै उनले माओवादी केन्द्रसहित प्रतिपक्षीहरुले संसद् अवरुद्ध गर्नु उचित नहुने बताए । महामन्त्री शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु पनि उचित नहुने बताए । ‘अब यस पछाडिको विषय के आउँछ अन्तिममा भने संसद् प्रतिपक्षले अवरुद्ध गरेको छ र प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ भनेको छ । यसबारेमा मेरो जम्मा टिप्पणी के छ भने यो विषय अब अदालतको विषय भइसक्यो । सम्मानित अदालतमा गइसकेको विषयको सन्दर्भमा संसद् अवरोध गरिरहने कुरा उचित हुँदैन,’– महामन्त्री शर्माले भने । File Photo/RN
प्रतिक्रिया