राजावादीहरु र समाजवादी मोर्चाको आन्दोलनमा १०/१५ हजार मान्छे आउने प्रधानमन्त्री ओलीको आँकलन

0
Shares

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरु र समाजवादी मोर्चाले भोलि आयोजना गरेको प्रदर्शनमा के–के न हुन्छ भनेर हल्ला चलाइएको टिप्पणी गरेका छन् । आज (बिहीबार) महिला उद्यमी मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले त्यस्ता जुलुस र प्रदर्शनबाट केही पनि नहुने बताए । प्रधानमन्त्री ओलीले भोलिको जुलुसमा १०/१५ हजार मानिसहरुको सहभागिता हुनसक्ने आँकलन गरे । उनले त्यत्रो जुलुस नेपालमा बेला–बेलामा निस्किनै रहनेसमेत टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले एउटा भृकुटीमण्डपमा र अर्को कोटेश्वरमा जुलुस निस्किने र त्यस विषयमा तिललाई पहाड बनाइराख्नुपर्ने कुनै आवश्यकता नरहेको बताए । उनले त्यस्ता अनावश्यक कुराको वास्तासमेत गर्न नहुने बताए । यस्ता अनावश्यक कुरामा नलागी देश विकासमा आफूहरु अगाडि बढिरहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

‘१०/१५ हजारका जुलुस नेपालमा निस्किरहेका छन् त ? त्यसलाई तिललाई पहाड बनाइरहनुपर्ने कुुनै आवश्यकता छैन । एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यही हो । यो सभा त सधैं हुने गरेकै हो, त्यति नै हुन्छ भोलि । यहाँ के के न हुन्छ भन्ने त्रास छ । त्यस्तो केही होइन,’– उनले भने । File Photo/RN