निर्मल निवासमा राजावादी र पूर्वपञ्चहरुको चहलपहल बढ्दो

0
Shares

काठमाडौं, १४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता देखाएसँग निर्मल निवासमा राजावादीहरु र पूर्वपञ्चहरुको सक्रियता बढेको छ । पूर्वराजा ज्ञानेन्द्र विभिन्न व्यक्तिहरुसँगको भेटघाटमा व्यस्त रहेका छन् । राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा भोलि (चैत १५ गते) काठमाडौंमा हुने प्रदर्शनको सन्दर्भलाई लिएर तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीले समेत पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका छन् ।

सुवेदीले हिजो (बुधबार) निर्मल निवासमा पुगेर पूर्वराजा ज्ञानेन्द्रसँग दर्शन भेट गरेका हुन् । त्यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका दुर्गा प्रसाईँले समेत आज पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका छन् ।

गत फागुन ७ गते एक वक्तव्य सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो सक्रियता बढाएका छन् । गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणबाट काठमाडौं फर्किँदा राजावादी दल र धार्मिक संघ संस्थाहरुले १०औं हजार मान्छे स्वागतका लागि सडकमा उतारेका थिए ।