काठमाडौं, १४ चैत । डिल्लीबजार चारखालस्थित राम मन्दिर (रामचन्द्र बाहाल) खाने भूमाफियाको प्रपञ्चमा उच्च अदालत पाटनले ब्रेक लगाइदिएको छ। राम मन्दिरको अस्तित्व नै समाप्त हुने गरी काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले वडा भवन बनाउन डोजर लगाएपछि स्थानीयहरू न्यायिक लडाईंका लागि उच्च अदालत पाटन पुगेका थिए। न्यायाधीश टंकप्रसाद गुरूङ र नारायणप्रसाद रेग्मीको संयुक्त इजलास रामचन्द्र मन्दिरलगायत अन्य मन्दिर एवं ऐतिहासिक पुरातात्त्विक महत्त्वका संरचनालाई असर पर्ने गरी निर्माण कार्य नगर्न, नगराउन अन्तरिम आदेश दिएको छ।
पुप्परत्न बज्राचार्यसमेतले काठमाडौं महानगरपालिका समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो। न्यायाधीश कृष्णराम कोइराला एकल इजलासले गत चैत ६ गते अल्पकालीन अन्तरिम आदेश दिँदै बिहीबार १४ गते दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि बोलाएको छ। दुबै पक्षको कुरा सुनेपछि उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो। साथै उक्त मुद्दामा अग्राधिकार समेत दिएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३० डिल्लीबजार मालपोतसँगै रहेको राम मन्दिरको जग्गा भूमाफिया र स्वयं वडाध्यक्ष दलबहादुर कार्की मिलेर हडपेको भन्दै स्थानीयहरू अदालत पुगेका थिए।
भूमाफियाले हडपेको मन्दिरको जग्गा २५ वर्षका लागि लिजमा लिएर वडा भवन बनाउने निर्णयविरूद्ध स्थानीय अर्जुन श्रेष्ठ, बालगोपाल कारजिंत, पुष्परत्न बज्राचार्य, ओमहरि श्रेष्ठ, प्रदीपकुमार शाही, कृपेश लोहनी, वसन्तकुमार प्रधान, राजकुमार श्रेष्ठलगायत उच्च अदालत पाटन पुगेका हुन्।
प्रतिक्रिया