गणतन्त्रवादी र राजावादीहरूको शक्ति प्रर्दशन आज, ३५ सय प्रहरी परिचालन हुँदै

0
Shares

काठमाडौं, चैत १५ । गणतन्त्रवादी र राजावादीहरूले आज काठमाडौंमा वृहत शक्ति प्रर्दशन गर्दैछन् । गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शनलाई मध्य नजर गरेर उपत्यकामा आज ३५ सय प्रहरी परिचालन हुँदैछन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले राजसंस्था पुनस्र्थापनाका लागि प्रदर्शन गर्दै छन् भने गणतन्त्रवादीहरू त्यसको प्रतिकारमा उत्रेर गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन् । राजावादीहरू प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायतका दल तथा केही राजा र हिन्दूवादी सङ्घसंस्थाहरूले पनि समर्थन जनाएका छन् ।

राजावादीहरूके प्रदर्शन तीन कुनेमा हुनेछ भने गणतन्त्रवादीहरूले भने भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । त्यसको नेतृत्व गरेको समाजवादी मोर्चासम्बद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँबाट जुलुश निकालेर गर्दैछन् ।

यी दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्दै छन् । दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ ।
सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ ।

पूर्वराजाका समर्थकलाई चक्रपथभन्दा बाहिर मात्रै जुलुस निकाल्न दिने गरी प्रहरीले सुरक्षा तयारी छ । चाबहिलबाट तीनकुने र सातदोबाटो हुँदै तीनकुनेसम्म पूर्वराजका समर्थकलाई जुलुस निकाल्न दिने प्रहरीको रणनीति छ । भक्तपुरतर्फबाट आउने पूर्वराजा समर्थक तीनकुनेमा रोकिनेछन् ।

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ ।